१२ बैशाख २०८१, बुधबार

कोरोना कोषमा रु दुई अर्ब ३४ करोड संकलन २८ करोड निकासा

nepali currency

सरकारले कोरोना संक्रमण नियन्त्रण उपचार कोषमा हालसम्म २ अर्ब ३४ करोड ८१ लाख ३७ हजार सङ्कलन भएको जनाएको छ । सोमबारको प्रतिनिधिसभा सार्वजनिक लेखा समिति बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए अनुसार उक्त कोषबाट हालसम्म २८ करोड ६७ लाख ५८ हजार निकासा भएको छ ।

सरकारले मुलुकका १७६ स्थानीय तहलाई रु १३ करोड २२ लाख ५६ हजार उपलब्ध गराएको छ । त्यसैगरी भारत सीमा नजिक रहेका होल्डिङ सेन्टर सञ्चालन गर्दै आएका स्थानीय तहलाई रु दुई करोड ७७ लाख २३ हजार उपलब्ध गराएको छ ।

सरकारको प्रणालीबाट विनियोजिन र केन्द्रीय बजेट प्रणाली, प्रदेश सरकार र स्थानीय तहको समग्र लेखाको अद्यावधिक खर्चको विवरण भने केही दिनमा समितिसमक्ष प्रस्तुत गर्ने सो अवसरमा जानकारी दिइयो ।

त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोना पहिचानका लागि हुने स्वाबको पीसीआर परीक्षण शुल्क पाँच हजार ५०० कायम गरिएको जानकारी दिए । उनले भने, “विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकासँग मिल्ने गरी उपचार प्रद्धति र क्वारेन्टाइन नीतिमा परिवर्तन गर्न लागेका छौँ, उपचारमा लाग्ने खर्च घटाउन प्रयत्न भइरहेको छ ।