२१ बैशाख २०८१, शुक्रबार

उत्तर कोरियाले फेरि गर्‍यो दर्जनौँ क्रुज क्षेप्यास्त्र प्रहार

Kimjongun north korea1 20220117090901

उत्तर कोरियाले कोरियाली प्रायद्वीपको पश्चिमी समुद्रमा लक्षित गरी दर्जनौँ क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाली तटमा आणविक हतियारयुक्त अमेरिकी पनडुब्बीको उपस्थितिको विरोधस्वरुप उत्तरले क्षेप्यास्त्र प्रहार गरेको हो ।

दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ-जेसीएसले शनिबार बिहान ४ बजे क्षेप्यास्त्र प्रहारको भएको पुष्टि गरेको छ । उत्तरको पछिल्लो गतिविधिपछि सेनाले निगरानी र सतर्कता बढाएको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् ।

बुधवार मात्रै उत्तर कोरियाले राजधानी प्योङयाङनजिकैबाट दुईवटा छोटा दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । उक्त क्षेप्यास्त्र ५ सय ५० किलोमिटर उडेर कोरियाली प्रायद्वीपको पूर्वी सामुद्रिक क्षेत्रमा खसेको थियो । तर, शनिबार प्रहार गरिएको क्षेप्यास्त्र कति दूरी उड्यो भन्नेबारे स्पष्ट भई नसकेको जेसीएसको भनाइ छ ।

उत्तर कोरियाका रक्षामन्त्री काङ सुन-नामले दक्षिण कोरियाली क्षेत्रमा आणविक पनडुब्बीको उपस्थिति उत्तर कोरियाद्वारा आणविक आक्रमणको आधार हुन सक्ने चेतावनी बिहीबार दिएका थिए ।

दक्षिण कोरियाले पनि उस्तै चेतावनी दिँदै उत्तरले गर्ने आणविक हतियारको कुनै पनि प्रयोगले किम जोङ-उनको शासन समाप्त पार्नेसम्मको परिणाम निम्तने बताएको छ ।

    सम्बन्धित समाचार...