२१ बैशाख २०८१, शुक्रबार

भारी वर्षाले नयाँ दिल्ली डुबानको खतरामा, यमुना नदीको जलस्तर ४५ वर्ष यताकै उच्च

yamuna evacuation

भारी मनसुनी वर्षाका कारण भारतको राजधानी दिल्ली डुबानको खतरामा परेको छ ।

यमुना नदीको जलस्तर ४५ वर्ष यताकै उच्च तहमा पुगेपछि दिल्लीका सडकहरु जलमग्न भएका छन् भने नदीसंग जोडिएका क्षेत्रमा बसोबास गर्ने मानिसलाई तत्काल उक्त क्षेत्र छाड्न मुख्यमन्त्री अरविन्द केजरीवालले चेतावनी दिएका छन् । भारी वर्षा र त्यसमाथि छिमेकी हरियाणा राज्यले हथिनीकुण्ड बाँधबाट लगातार पानी छाडिरहेका कारण यमुना नदीको जलस्तर तीव्र गतिमा बढिरहेको जनाइएको छ ।

मुख्यमन्त्री केजरीवालले बुधवार साँझ केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्र लेखी हस्तक्षेप गर्न र हरियाणाबाट यमुना नदीमा सीमित पानी छाड्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् । यता केन्द्रीय जल आयोगले हथिनीकुण्ड बाँधमा सीमित मात्रामा मात्र पानी संग्रह गर्ने क्षमता भएको र बढी भएको पानी यमुना नदीमा छाड्नु पर्ने बाध्यता रहेको भन्दै ट्वीट गरेको छ ।

बुधबार राति ११ बजे यमुना नदीमा पानीको जलस्तर २ सय ८ दशमलव ०८ मिटर पुगेको छ । यो ४५ वर्ष यताकै सबैभन्दा उच्च तह हो । ४५ वर्षअघि अर्थात सन् १९७८ मा यमुना नदीको जल सतह २ सय ७ दशमलव ४९ मिटर पुगेको थियो ।

हथिनीकुण्ड बाँधबाट प्रतिघण्टा एकदेखि २ लाख क्यूसेक पानी छाड्ने गरिएको भारतीय समाचारमाध्यमले जनाएका छन् । यमुना नदी आसपासको बस्तीका हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने संवेदनशील क्षेत्रमा चार जनाभन्दा बढी मानिस एक ठाउँमा भेला हुन नपाउने गरी धारा एक सय ४४ लगाइएको छ । तल्लो तटीय क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ । उद्धार तथा बचाउका लागि विपत् व्यवस्थापन बलका टोलीहरु परिचालन गरिएका छन् ।

उत्तर भारतमा पछिल्ला केही दिनमा भएको भारी वर्षाका कारण कम्तिमा ३० जनाको मृत्यु भइसकेको छ ।

    सम्बन्धित समाचार...