२१ बैशाख २०८१, शुक्रबार

अब अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यत्तिहरु पनि सासु कोषमा

samajik surkshy kos

योगदानमा आधारित सामाजिक सुरक्षा कोषले आफ्नो क्षेत्र विस्तार गर्दै अब अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई पनि सामाजिक सुरक्षा कोषमा सूचिकृत गराउने भएको छ ।

बुधबारदेखि नै अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरा बिस्तार हुनेगरी शुभारम्भ गर्ने कार्यक्रम थियो । तर, बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डकी पत्नी सीता दाहालको निधन भएका कारण सामाजिक सुरक्षा कोषले आयोजना गरेको सो कार्यक्रम रोकिएको हो ।

सामाजिक सुरक्षा कोषका प्रमुख कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बुधबार रोकिएको योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा बिस्तार गरी स्वरोजगार र अनौपचारिक क्षेत्रमा रहेका व्यक्तिहरूको कोषमा आबद्धता गराउने प्रक्रिया औपचारिक रुपमा छिटै गर्ने बताए ।

उनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार रहेका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ सरकारले स्वीकृत गरेको भन्दै अब यस्ता सबै यो कोषमा सूचिकरणमा समेटिने बताए ।

प्रमुख कार्यकारी निर्देशक ज्ञवालीले बुधवार प्रधानमन्त्री दाहालले शुभारम्भ गर्ने कार्यक्रम रहेपनि सिता दाहालको निधन लगायत विशेष कारणले अहिले हुन नसकेको बताए । उनले कोषले शुरुवाती अवस्थामा घरेलु श्रमिक, कृषि क्षेत्रमा काम गर्ने श्रमिक,निर्माण क्षेत्र र यातायात क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई आबद्ध गराउने योजना रहेको बताए ।

उनले सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर त्यसमा योगदान गर्ने, स्वरोजगार श्रमिकलाई पारिश्रमिकको ३१ प्रतिशत हुन आउने रकम कोषमा जम्मा गर्ने, ३ गुणासम्म जम्मा गर्नसक्ने व्यवस्था गरेको बताए । उनले यस व्यवस्था अन्तर्गत श्रमिकहरुलाई औषधि उपचार, स्वास्थ्य, मातृत्व सुरक्षा, दुर्घटना, अशक्तता,आश्रित परिवार सुरक्षा योजना लगायत ६० वर्षपछि बाँचुन्जेल पेन्सनको व्यवस्था गरिएको पनि बताए ।

यसैगरि, ज्ञवालीले अनौपचारिक क्षेत्रमा श्रमिकहरुको लागि न्यूनतम आधारभूत पारिश्रमिक २०.३७ प्रतिशत हुन आउने गरी मासिक रुपमा कोषमा जम्मा गरेपछि औपचारिक क्षेत्रका श्रमिक सरह सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको बताए । उनले कोषमा अहिलेसम्म ६ लाख २५ हजार भन्दा बढी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएको जानकारि दिए । राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...