३ जेष्ठ २०८१, बिहीबार

उम्मेदवार चित्त नबुझे ‘राइट टू रिजेक्ट’ को व्यवस्थासहित कानुन ल्याइँदै

Right to reject e1688864082651

हाम्रो अहिलेको निर्वाचनसम्बन्धी कानुनमा निर्वाचनका बेला आफ्नो क्षेत्रबाट उठेकामध्ये एकलाई अनिवार्य मतदान गर्नैपर्ने व्यवस्था छ । तर, अब आफ्नो क्षेत्रमा उठेका कोही पनि उम्मेदवार चित्त नबुझे ‘राइट टू रिजेक्ट’ को व्यवस्थासहित कानुन ल्याइँदै छ । निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचनसम्बन्धी कानुनको मस्यौदामा कुनै पनि उम्मेदवार मन नपरे मत दिन्न भन्न पाइनेछ । यसको अन्तर्राष्ट्रिय अभ्यास कस्तो छ र आयोगले कस्तो मापदण्ड बनाउँदैछ त ?

निर्वाचनका बेला तपाईंलाई कुनै पनि उम्मेदवार मन परेको छैन भन्ने संकेतमा मतदान गर्नु राइट टू रिजेक्ट हो । त्यही व्यवस्थासहित निर्वाचन आयोगले अहिले कानुनको मस्यौदा तयार पारेको हो । सर्वोच्च अदालतले २०७४ सालमै राइट टू रिजेक्टको व्यवस्था गर्न आदेश दिए पनि राजनीतिक दलहरुले मानेका थिएनन् । अहिले मतदातालेसमेत विकल्प खोज्न थालेपछि आयोगले अदालतको आदेशबमोजिम कानुनमै यसको व्यवस्था गर्न लागेको हो । कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको मत संख्या कुल सदर मतको ५० प्रतिशतभन्दा बढी भएमा त्यस्तो निर्वाचन नै रद्द हुने र पुनः अर्को निर्वाचन गर्नुपर्ने व्यवस्था मस्यौदामा छ । एक पटक मतदाताले अस्वीकार गरेका उम्मेदवार त्यही कार्यकालमा पुनः उठ्न पाउने छैनन् ।

निर्वाचनमा राइट टू रिजेक्टको व्यवस्था नेपालका लागि नौलो भने पनि धेरै मुलुकमा यसको अभ्यास छ । छिमेकी मुलुक भारत, पाकिस्तान, बंगलादेशसहित फ्रान्स, रुस, कोलम्बियालगायतका देशमा पनि यसको प्रचलन छ । भारत र फ्रान्समा मतपत्रमा नो भोटको व्यवस्था भए पनि पुन: निर्वाचन हुने व्यवस्था छैन । त्यस्तै केही देशले भने ५० प्रतिशतभन्दा बढी मत राइट टू रिजेक्टमा परे अर्को निर्वाचन गर्ने गरेका छन् ।

कोलम्बियामा २०११ मा भएको स्थानीय निर्वाचनमा ५६ दशमलव ७ प्रतिशत भोट यसमा परेकाले पुन: निर्वाचन गर्नुपरेको थियो । नेपालमा पनि कुल सदरमतको ५० प्रतिशतभन्दा बढीले उम्मेदवार अस्वीकार गरे पुन निर्वाचन गर्ने भनिएको छ । तर यस्तो व्यवस्थालाई दलहरुले स्वीकार गर्नेमा भने शंका छ ।

राजनीतिक दलहरुमा निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने होडबाजीका कारण जस्तो सुकै उम्मेदवार पनि खडा गर्ने प्रवृति छ । कानुनमै राइट टू रिजेक्टको व्यवस्था गर्न सकिए योग्य व्यक्तिलाई उम्मेदवार बनाउन दलहरु बाध्य हुनेछन् । त्यति मात्र होइन उम्मेदवार स्वयम् पनि योग्य नभएको स्वीकार गर्न बाध्य हुनेछन् । यसले मुलुकको सुशासनमा समेत सहयोग पुग्न सक्छ ।

    सम्बन्धित समाचार...