
नेपाली फिल्म क्षेत्रका उदयमान अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन् । उनले, ३१ बर्षको उमेरमा आफ्नै निवास रातो पुलमा आत्महत्या गरेका हुन् ।
बिहीवार राती ११ बजे उनले झुण्डिएर आत्महत्या गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । घरको भर्याङको रेलिङमा प्लाष्टिकको पाइपको पासो लगाएर झुण्डिएर ताम्राकार मृत अवस्थामा भेटिएको जनाइएको छ । घटनास्थलको मुचुल्का कार्यपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।
सारुकले बिहिबार बिहानसम्म फिल्म ‘ह्यासट्याग माया’को छायांकन गरिरहेका थिए । तर, अचानक उनले यस्तो निर्णय किन लिए खुल्न सकेको छैन ।
बेलुकी उनका माता पिता एउटा पार्टीमा पुगेका थिए । सारुकले पनि आफू पार्टीमा आउने जानकारी बाबु–आमालाई गराएका थिए ।
रातो पुलमा रहेको निवासमा उनी आफ्ना बुबा–आमासँग बस्दै आएका थिए । फिल्म ‘ह्यासट्याग माया’का प्रोडक्शन डिजाइनर अरुण रेग्मीले भने–‘बेलुकी सबैसँग राम्रोसँग छुटेका थिए । फिल्मको छायांकनमा पनि निकै राम्रोसँग काम गरिरहेका थिए । तर, अचानक राती यस्तो निर्णय लिएछन् । हामी आफै छाँगाबाट खसे जस्तो भएका छौं ।’
सारुकले फिल्म ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानी’ लगायतका फिल्ममा अभिनय गरेका छन् । उनले फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिशत छायांकन सकाएका थिए । यो फिल्ममा उनले नायिका नम्रता श्रेष्ठसँग अभिनय गरिरहेका थिए ।
सारुक पाका अभिनेता सानु ताम्राकार छोरा हुन् । पिताको लिगेसी पछ्याउदै उनी फिल्म अभिनयमा आइपुगेका थिए ।