२१ बैशाख २०८१, शुक्रबार

सरकार परिवर्तनको सम्भावना तत्कालका लागि टर्यो

prachanda

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले उठाएको सरकार परिवर्तनको एजेन्डा तत्कालका लागि असफल हुनेभएको छ । आठ दलीय गठबन्धनको सरकार ढलाउन सरकारको मुख्य सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने एजेन्डा बोकेर हिँडेको एमालेका लागि तत्काल उक्त सम्भावना टरेको हो ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवालाई प्रधानमन्त्रीको प्रस्ताव ल्याएको एमालेले असार १३ मा बजेट पारित हुन नदिने कसरत गरेपनि मत विभाजनमा उपस्थित सत्ता पक्षका सबै सांसदहरूले आर्थिक वर्ष २०८०/२०८१ को विनियोजन विधेयकका पक्षमा मतदान गरेसँगै एमालेको एजेन्डा तत्काललाई तुहिएको सत्ता पक्षका सांसदहरूले बताएका छन् ।

संसद्को प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिपक्षी बेन्चमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेतको बलमा सरकारले ल्याएको बजेट असफल पारेर सरकार परिवर्तनको संम्भावना खोज्दै इतिहासमै पहिलोपटक विनियोजन विधेयकमाथि मतदान गर्न लगाएको थियो ।उक्त प्रक्रियामाविनियोजन विधेयक पक्षमा १ सय ४७ मतसहित बजेट पारित गरेपछि एमालेले घटाउन खोजेको सरकारको आयुमा तत्काल कुनै असर पर्ने अवस्था नदेखिएको नेताहरूले बताएका छन् ।

सरकारबारे भइरहेको टिप्पणी र असन्तुष्टि गठबन्धनका दलभित्र रहेको गुटको प्रभाव मात्रै भएको बताइएको छ । माधव नेपालले गठबन्धनभित्र बलियो स्थान बनाउन र कांग्रेस महामन्त्री गगन थापाले आफ्नै पार्टीभित्र असन्तुष्टि भएकाले बाहिर बोल्दै आएको गठबन्धनका एक नेताले बताए । उनले भने– ‘उपेन्द्र यादवलाई मधेश प्रदेशको सरकार सुरक्षित गर्नुछ, माधव नेपाललाई गठबन्धनभित्र बलियो स्थान बनाउनु छ, गगन थापालाई आन्तरिक असन्तुष्टि पोख्नु छ, त्यतिमात्रै हो, गठबन्धन केही हुन्न ।’ यिनै असन्तुष्टिलाई टेकेर प्रतिपक्षी दलहरूले खेल्न खोजेको उनको दाबी छ ।

कांग्रेसका सांसद रामहरि खतिवडाले भने–‘प्रतिपक्षी दलहरूले सरकार र सत्ता गठबन्धन दलहरूबीच अनेकन रूपमा खेख्न खोजेपनि अहिले नै एमालेको आकांक्षा पूरा हुँदैन । यो सरकारले ल्यााएको बजेट पारित गर्न नदिने उसको सपना मात्रै तुहिएन, सदनमा भएको मतदान प्रक्रियाबाट बहुमतले बजेट पारित भइसकेपछि एमालेको एजेन्डासमेत सकिएको छ ।’

निकट विगतको राजनीतिक पृष्ठभूमि र सम्भावित समीकरणको जोखिमका कारण पनि अहिलेको गठबन्धन र सरकार बदलिने कुरा कल्पना बाहिरको भएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

बजेट पारित भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारको सम्भावित संकट तत्काललाई टरेको नेकपा (एकीकृत समाजवादी)का एक नेताले बताए । आजको नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित समाचार...