३ जेष्ठ २०८१, बिहीबार

आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने दिन

ropai7

दही चिउरा खाएर असार आज १५ मनाइँदै छ । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ ।

किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ ।

वैद्यराज सुवर्ण वैद्यकाअनुसार दही र चिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै दही पाचन प्रणालीका लागि निकै राम्रो खाद्य पदार्थ भएकाले अरू बेला पनि दही खानु स्वास्थ्यवद्र्धक हुने उनी बताउँछन् । सरकारले २०६२ सालदेखि यो दिनलाई धान दिवसका रूपमा मनाउन थालेको छ ।

मध्य असारसम्म ११.१४ प्रतिशत रोपाइँ

‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदै छ । प्रचारात्मक कार्यक्रम गरी धान दिवस मनाइरहँदा देशका अधिकांश स्थानमा रोपाइँ भने हुन सकेको छैन । जलवायु परिवर्तनले हाम्रो मुख्य खाद्यान्न बाली धानमा प्रत्यक्ष असर पुर्‍याइरहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मध्य असारसम्म पनि देशभर १२ प्रतिशत पनि रोपाई हुन सकेको छैन । मौसम अनुकूल नहुँदा र कुल खेतीयोग्य जमिन मध्ये ३३ प्रतिशतमा पुगेको सिँचाइका कारण पर्याप्त रोपाई हुन नसकेको हो ।

यता विश्वव्यापी समस्याको रूपमा रहेको जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरी धानको उत्पादन दिगो र उच्च कायम राख्न सक्नु चुनौतीको विषय बनेको छ । जलवायु परिवर्तन मात्र होइन तीव्र रूपमा भइरहेको जमिनको खण्डीकरण र यान्त्रीकरणको अभाव धान उत्पादनका लागि चुनौती बनेका छन् ।

नेपालमा वार्षिक साढे १४ लाख हेक्टर जमिनमा धान खेती गरिने भए पनि वार्षिक उत्पादन ५५ लाख टन छ । अहिले पनि १० लाख टन धानको अभाव रहेको सरकारी आकलन छ । वार्षिक ४५ अर्बभन्दा बढीको धान चामल आयात हुने गरेको छ । कृषिजन्य वस्तुमा सबैभन्दा धेरै आयात धान चामल नै हुने गरेकाले धानमा लगानी बढाउनुपर्ने सुझाव विज्ञको छ ।

यता सरकारले धान चामलको आयात न्यूनीकरणका लागि १ लाख २० हजार हेक्टरमा रहेको चैते धान खेतीको विस्तार, सिँचाइ पूर्वाधार थप्ने र नेपाल कृषि अनुसन्धान परिषद्ले विकास गरेका बीउ किसान सम्म पुर्‍याउने नीति लिएको छ । मसिनो चामलको मागलाई लक्षित गर्ने गरि कार्यक्रम तर्जुमा गरिएका सरकारी अधिकारीहरूको दाबी छ ।

किसानको सहज पहुँच, उन्नत बिउ र पर्याप्त रासायनिक मल नहुँदा नेपालमा धानको उत्पादकत्व प्रति हेक्टर ३ दशमलव ७ प्रतिशत छ । समुन्द्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबभन्दा उच्च स्थान जुम्लाको छुमचौरमा ३०५० मिटर उचाइसम्म धानको खेती गरिन्छ ।

    सम्बन्धित समाचार...