२७ बैशाख २०८१, बिहीबार

पशुपतिको जलहरी परीक्षणका लागि दुई दिन लाग्ने

pashupatinath

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा भएको अनियमितामाथि अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरी नै निकालेर परीक्षण सुरु गरेको छ ।

तौल मापन तथा परीक्षणका लागि पशुपतिनाथ मन्दिरको गर्भगृहबाट जलहरी निकालिएको छ । खानी तथा भूगर्भ, पुरातत्व, नापतौल तथा गुणस्तर विभाग, सुनचाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोष तथा सुरक्षा निकायका प्रतिनिधिहरुको रोहबरमा मुचुल्का उठाएर अख्तियारको टोलीले जलहरी निकालेको हो । जलहरी निकाल्नुअघि मन्दिरमा आरती गरिएको थियो ।

जलहरी परीक्षणका लागि दुई दिन लाग्ने अनुमान गरिएको छ । भोलि साँझसम्म जलहरीको तौल तथा गुणस्तर परीक्षण गरी पर्सि पुनर्थापना गर्ने तयारी रहेको बताइएको छ ।

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको प्रवेशमा रोक लगाएर जलहरी निकालिइएको हो । करिब डेढ वर्षदेखि अनुसन्धान गरिरहेको आयोगले मुद्दा टुंगो लगाउने परीक्षण थालेको हो । महालेखापरीक्षकको प्रतिवेदनमा समेत पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा ११ किलो सुनको हिसाब नदेखिएको उल्लेख छ ।

२०७७ साल माघ १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथमा संकल्प पूजा गरेर एक अर्बको जलहरी राख्ने घोषणा गर्दै सरकारले ३० करोड दिने निर्णय गराएका थिए । त्यसमा पशुपति विकास कोषले ५० करोड थप गरेर १ सय ८ किलोको जलहरी राख्ने निर्णय गरेको थियो । तर जलहरी राखिएको केही दिनमै चुँडिएपछि अनियमितताको आशंकामा अख्तियारले अनुसन्धान अगाडि बढाएको हो ।

    सम्बन्धित समाचार...