३ जेष्ठ २०८१, बिहीबार

आज देशैभरीका स्थानिय तहले बजेट सार्बजनिक गर्दै

istaniye taha bajet

अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आज ल्याउँदैछन् । ७५३ मध्ये १० स्थानीय तहले भने शनिबार बजेट सार्वजनिक गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार शनिबार १० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । बाँकी ७४३ स्थानीय तहले आइतबार बजेट सार्वजनिक गर्नेछन् ।

मन्त्रालयका अनुसार कोशी प्रदेशका दुई, मधेस प्रदेशका एक, बागमती प्रदेशका एक, गण्डकी प्रदेशका चार र सुदूरपश्चिम प्रदेशमा दुई गरी जम्मा १० स्थानीय तहले बजेट ल्याएका हुन् ।

पोखरा, भरतपुर र विराटनगर महानगरपालिकाले आज नीति तथा कार्यक्रम र बजेट नगर सभामा प्रस्तुत गर्दैछन् । काठमाडौं र ललितपुर महानगरले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् भने आज बजेट ल्याउने तयारी गरेका छन् । वीरगञ्ज महानगरले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेको छ ।

नीति तथा कार्यक्रम र बजेट ल्याउन बाँकी अधिकांश स्थानीय तहले आजै सार्वजनिक गर्ने तयारी गरेका छन् । कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी अधिकांश स्थानीय तहको छ । स्थानीय तहले सार्वजनिक गरेको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने छ ।

संघबाट प्राप्त हुने चार प्रकारका अनुदान र राजस्व बाँडफाँटबाट जाने रकम स्थानीय तहको बजेटको मुख्य स्रोतका रुपमा मानिन्छ । संघीय सरकारले वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, सर्शत अनुदान, समपूरक विशेष अनुदान छुट्याएको हुन्छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारले ऐनअनुसार असार १० गतेभित्र बजेट पेस भए नभएकालाई मूल्याङ्कनमा एक सूचक मान्ने गरेको छ ।

    सम्बन्धित समाचार...