२१ बैशाख २०८१, शुक्रबार

१८ मोटरसाइकल र एउटा गाडी, इन्धन र सवारी मर्मत खर्च ६० लाख माथि

balan bihul

भौगोलिक र जनसंख्याको हिसाबले जिल्लाको सबैभन्दा कान्छो रहेको बलान विहुल गाउँपालिकामा ९ महिनामै जनप्रतिनिधिले इन्धन र सवारी मर्मतमा ५४ लाखभन्दा बढी रुपैयाँ खर्च गरेको पाइएको छ ।

गाउँपालिकाले गत साउनदेखि चैत्र २६ गतेसम्ममा सो रकम खर्च गरेको पाइएको हो । उक्त रकममध्ये इन्धनतर्फ पदाधिकारीका लागि १५ लाख, कार्यालय प्रयोजनका लागि २३ लाख ५० हजार, अन्य प्रयोजनका लागि ६४ हजार गरी कुल ३९ लाख १४ हजार रुपैयाँ खर्च गरेको छ ।

जिल्लाको बोदे बरसाइन नगरपालिका–५ स्थित डाक्नेश्वरी भगवती सेन्टरसँग इन्धन आपूर्ति गर्न गाउँपालिकाले सम्झौता गरेको छ । सम्झौताअनुसार गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवको हस्ताक्षर र गाउँपालिकाको छाप लागेको कुपनको आधारमा मात्रै इन्धन (डिजल र पेट्रोल) उपलब्ध हुँदै आएको थियो ।

अध्यक्ष यादवले आवश्यकताभन्दा पनि मनोमानी ढंगले कुपन काटेर गाउँपालिकाको बजेट दोहन गर्दै आएको कर्मचारी स्रोतको दाबी छ । ‘जनताका लागि अति आवश्यक रहेको एम्बुलेन्स, बारुणयन्त्र, शववाहनलगायतका सवारी गाउँपालिकामा छैन’, उनले भने– ‘१८÷१९ वटा मोटरसाइकल र एउटा चारपांग्रे सवारी छ, गाउँपालिकालाई भौगोलिक तबरले हेर्दा पनि ती सवारीहरू दैनिक चल्दा समेत त्यति तेल खपत नहुनुपर्ने हो तर अध्यक्षज्यूले जनताका लागि काम गर्नेभन्दा पनि आफ्नै विलासितामा होमिनुभएको छ ।’

उनले इन्धन खपत भएको ‘लगबुक’ समेत नराखिएको बताए । ‘उसो त आर्थिक पाटोसँग जोडिएका प्रायःजसो सबै विषय कर्मचारीसँगै जोडिएको हुन्छ र फजुल खर्च नियन्त्रण गर्ने दायित्व पनि कर्मचारीकै हो तर इन्धनको ‘कुपन’मा अध्यक्षज्यूको मनोमानी छ’, उनले भने– ‘उहाँ आफ्नै निजी सम्पत्तिसरह अन्धाधुन्ध इन्धनको नाममा पैसा सकाइरहनुभएको छ ।’

त्यस्तै, गाउँपालिकामा मर्मततर्फ पनि सोही अवधिमा सवारीसाधन मर्मतका लागि १४ लाख ८६ हजार र अन्य मर्मत गरी १४ लाख ९५ हजार रुपियाँ खर्च गरेको छ । गत माघ १७ गते नै सरकारले वित्त सन्तुलन कायम राख्न इन्धन, मर्मत सम्भारलगायतका शीर्षकमा २० प्रतिशत खर्च कटौती गर्न परिपत्र गरेको थियो । तर, जनप्रतिनिधिले अर्थ मन्त्रालयको सो परिपत्रलाई समेत बेवास्ता गर्दै अचाक्ली खर्च गरेको जनाएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

    सम्बन्धित समाचार...