३ जेष्ठ २०८१, बिहीबार

अन्ततः वामदेव एमालेमा फर्किए, ६० लाख भोट कटाउने उद्घोष

bamdev

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पूरानो पार्टी एमालेमै फर्किएका छन् । आज (आइतबार) एमाले मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि उनी एमालेमा फर्किन राजी भएको एमाले नेताहरुले दाबी गरेका छन् ।

उनले आफू काम गर्न र खटिनको लागि एमालेमा आउन लागेको बताएका थिए । अध्यक्ष ओलीले पनि एमालेमा स्वागत रहेको भन्दै सक्रियतापूर्वक पार्टीको काममा लाग्न आग्रह गरेका छन् । सो क्रममा उनले अब पार्टीलाई बलियो बनाउन र ०८४ को निर्वाचनमा ६० लाख भोट कटाउनेगरि काम गर्ने बताएका थिए ।

नेकपा विभाजनपछि एकताको लागि अभियान चलाएर आएका गौतम पछिल्लो समय निश्क्रिय थिए । उता, भोलि प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भोलि नै समाजवादी मोर्चा घोषणा गर्दैछन् । नेता गौतमलाई पनि उक्त मोर्चामा सहभागी हुन आग्रह गरिएको थियो । त्यसकै पूर्वसन्ध्यामा गौतमले ओलीसँग भेट गरेका हुन् ।

ओलीलाई गौतमले एक घन्टा लामो भेट गरेका छन् । आफू पहिल्यै एमालेमा सक्रिय रहन इच्छुक भए पनि समूहको व्यवस्थापन नटुंगिएकाले ढिलाइ भएको उनले बताए ।

‘म पहिल्यै एमालेमा आएर सक्रिय हुन खोजेको हो, तर साथीहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा कुरा मिलिसकेको छैन,’ ओलीसँग भेटेपछि गौतमले भने, ‘अहिले चुनौतीको बेला छ, आगामी चुनावमा ६० लाख भोट कटाउनेगरी काम गर्नुपर्छ । म पार्टीमा सलाम गर्न, सलाम खाएर बस्न आउने होइन, खटेर काम गर्न आउने हो ।’

ओलीले गौतमलाई पार्टीमा सक्रिय भएर लाग्न आग्रह गरेका छन् । उनको जिम्मेवारी के हुने भन्ने प्रष्ट खुलेको छैन । ओलीले नेताहरुसँग सल्लाह गरेर बताउने भनेको गौतमले बताए ।

एमालेमा ७० वर्षे उमेरहद फुकाउने निर्णय वामदेवकै व्यवस्थानका लागि भनेर पार्टी नेताहरुले भनिसकेका छन् । एमाले कार्यालय स्रोतका अनुसार गौतम ओलीसँग भेटेपछि उत्साहित छन् ।

एमालेमा फर्किन लागेका वामदेवले आफ्नो अभियानमा सहभागी भएकाहरुको व्यवस्थापनको कुरा उठाएका थिए । स्वयम गौतमको एमालेमा कसरी व्यवस्थापन हुन्छ ? भन्ने कुरा खुलाईएको छैन् ।

KP OLi bamdev gautam

    सम्बन्धित समाचार...