५ जेष्ठ २०८१, शनिबार

आदिपुरुष विवाद: बालेनले लेखेको त्यो पोस्टले भारतमा तरंग

balen and aadhipurush

शुक्रबार नेपाल र भारत दुवै देशका सिनेमाघरमा दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ प्रदर्शन हुनेवाला थियो । यसको पूर्वसन्ध्यामा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले ‘आदिपुरुष’ मा प्रयोग भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै तीन दिनभित्र त्यो संवाद हटाउन फिल्म निर्मातालाई चेतावनी दिए ।

चलचित्रको संवाद तीन दिनभित्र नसच्याइए ‘काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन’, शाहले भनेका थिए ।

मेयर शाहले सामाजिक सञ्जालमा लेखेको त्यो पोस्टले भारतमा समेत तरंग ल्यायो । नेपालको चलचित्र विकास बोर्डले उक्त संवाद ‘म्यूट’ गर्न लगाएर मात्रै चलचित्र प्रदर्शनका लागि अनुमति दियो ।

डायलग हटाएर चलाइयो फिल्म

चलचित्र आदिपुरुषको प्रदर्शनअघि नै मेयर बालेन्द्रले आफ्नो फेसबुकमार्फत उक्त संवाद हटाउन मात्रै भनेनन् । शाहले उता संवाद हटाउन ३ दिनको समय दिए भने यता उक्त संवा फिल्मको मूल भागबाटै नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने प्रबन्ध मिलाउन सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयलाई पत्राचार गरे । यससँगै सेन्सर बोर्डले पनि फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन मानेको थिएन ।

विवादकैबीच यस फिल्मबाट ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउने भएपछि आदिपुरुषको सेन्सर पनि पास भएको छ । चलचित्र विकास बोर्डले संवाद ‘म्यूट’ गरिने भएपछि हलमा चलचित्र देखाउनका लागि अनुमति दिएको छ । आदिपुरुष हेरेर आउने नेपाली दर्शकहरूले भने उक्त संवाद हटाएको नभई ‘म्यूट’ मात्र गरिएको बताएका छन् ।

प्रदर्शनको पहिलो दिनका केही ‘शो’ रोकिए पनि शुक्रबारदेखि नै आदिपुरुष चलचित्र हलहरूमा प्रदर्शन भइरहेको छ ।

भारतीय मिडियामा बालेन्द्रको चर्चा

बालेन्द्रको चेतावनीपछि नेपालमा मात्र होइन, भारतीय सञ्चार माध्यममा पनि यो विषयले चर्चा पायो ।

‘आदिपुरुषको कुन संवादमा नेपालमा भयो विवाद ?’, गनी अन्सारीले बीबीसी हिन्दीमा विस्तृतमा लेखेका छन् । उनले रामकथामा आधारित चलचित्र ‘आदिपुरुष’ रावणदेखि सीतालगायतका पात्रको छायांकनलाई लिएर आलोचना भइरहेकोमा नेपालमा भने ‘सीतालाई भारतकी छोरीका रूपमा वर्णन गरिएको’ प्रसंगले विवाद उत्पन्न भएको उल्लेख गरेका छन् ।

‘नेपालले यो दाबी गर्दै आएको छ कि पौराणिक पात्र सीताको जन्म नेपालको जनकपुरमा भएको थियो’, अन्सारीले लेखेका छन्, ‘यसैका कारण नेपालमा चलचित्रको उक्त संवादलाई लिएर विवाद उत्पन्न भएको छ ।’

यस्तै हिन्दी भाषाको भारतीय समाचार च्यानल आजतकले ‘नेपालमा विरोध, दिल्ली हाई कोर्टसँग प्रतिबन्ध लगाउन माग, ‘आदिपुरुष’ रिलिज भएपछि पनि रोकिएन विवाद’ भन्दै समाचार दिएको छ ।

आजतकका अनुसार रामायण र हिन्दु संस्कृतिको मजाक उडाइएको भन्दै ‘आदिपुरुष’ को प्रदर्शनमाथि रोक लगाउन दिल्ली उच्च न्यायालयमा निवेदन नै दर्ता भएको छ । ‘नेपालको राजधानी काठमाडौंका सिनेमा हलहरूमा चलचित्र ‘आदिपुरुष’को प्रदर्शन रोकिएको छ । काठमाडौंका मेयरले निर्माणकर्तालाई सीताको जन्मस्थान बारे गल्ती सच्याउन र सही जानकारी दिन भनेका छन्’, आजतकमा उल्लेख छ ।

यस्तै भारतीय अखबार हिन्दुस्तानले काठमाडौंमा आदिपुरुषको ‘स्क्रिनिङ’ माथि रोक शीर्षकमा समाचार प्रकाशन गरेको छ । काठमाडौं महानगरका नगरप्रमुख बालेन्द्रको फेसबुक स्टाटस उद्धृत गर्दै चलचित्रमा ‘जानकी भारकी छोरी हुन्’ भन्ने लाइन हटाइनुपर्ने र नेपाल तथा भारत दुवै देशमा उक्त चलचित्रको संवाद प्रयोग गर्न नहुने हिन्दुस्तानमा उल्लेख छ । ‘नेपाल चलचित्र बोर्डले पनि भनेको छ कि हलहरूमा आदिपुरुष प्रदर्शनको अनुमति तब दिइनेछ जब सितालाई भारकी छोरी भन्ने संवाद सच्याइनेछ’, हिन्दुस्तानले अगाडि भनेको छ ।

त्यसैगरी एबीपी न्युजले पनि आदिपुरुषको विषयमा उत्पन्न विवादलाई समेटेर सामग्री प्रकाशन गरेको छ । उसले लेखेको छ, ‘आदिपुरुष फिल्ममाथि नेपालमा उठ्यो सवाल, माता सिताको डायलगमा हङ्गामा मच्चियो ।’

काठमाडौंका मेयर बालेन्द्र शाहले आदिपुरुषको ट्र्लरमा भएको कृति सेननको डायलग गलत भएको बताएको र सोही डायलगका कारण नेपालको सेन्सर बोर्डले फिल्म रिलिजको अनुमति नदिएको पनि एबीपी न्युजले उल्लेख गरेको छ ।

यस्तै डीएनए इन्डियाले चलचित्र आदिपुरुषको विषयमा भारतदेखि लिएर नेपालसम्म बबाल मच्चिएको भन्दै समाचार प्रकाशन गरेको छ । ‘आदिपुरुषमा जानकी भारतकी छोरी भनेर बताइएकोप्रति नेपालका थिएटर मालिकहरू दुखी छन् । आपत्तीजनक उक्त संवाद नहटाएसम्म फिल्म रिलिज हुन नदिने उनीहरूको भनाइ छ’, डीएनए इन्डियामा उल्लेख छ ।

यस्तै स्क्रोल डट इन, टाइम्स अफ इन्डिया, आउटलुक, ट्रिब्युन् इन्डिया, द इन्डियान एक्सप्रेसलगायतका सञ्चारमाध्यामले आदिपुरुष चलचित्रको संवादलाई लिएर काठमाडौंका मेयरले हिन्दी फिल्ममा प्रतिबन्ध लगाउने धम्की दिएको आसयमा समाचार सामग्रीहरू प्रकाशन गरेका छन् ।

हिन्दुस्तान टाइम्सले पनि मेयर शाहकै भनाइ उद्धृत गर्दै– केही दिन अघिमात्र ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका शाहले प्रभास–कृति सेननको आदिपुरुष रिलिजअघि ‘सीता भारतकी छोरी होइनन्’ भन्दै फिल्ममा आपत्तीजनक संवाद हटाउन चेतावनी दिएको आशयमा समाचार लेखेको छ ।

    सम्बन्धित समाचार...