२१ बैशाख २०८१, शुक्रबार

अवकाशको मुखमै अर्यालको नाटकीय छलाङ

baikuntha

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ सचिव डा. वैकुण्ठ अर्याललाई नयाँ मुख्य सचिवमा नियुक्त गरेको छ ।

सचिवको पाँच वर्षे कार्यकाल सकिएर अवकाश पाउन दुई दिनमात्रै बाँकी रहँदा अर्याल अप्रत्यासित रूपमा सरकारको मुख्य सचिवमा नियुक्त भएका हुन् । उनी आगामी तीन वर्षका लागि मुख्य सचिव बनेका छन् ।

बिहीबार आकस्मिक रुपमा सिंहदबारमा बसेको मन्त्रिपरिषद् बैठकले हालका मुख्य सचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्दै उनको ठाउँमा अर्याललाई ल्याएको हो । अर्यालको यो नियुक्तिलाई ‘नाटकीय’ र ‘अप्राकृतिक’ रूपमा हेरिएको छ । राजनीतिक र प्रशासन दुवै विकृत भइरहेको अवस्थामा उनी मुख्य सचिव बन्दै गर्दा उनीमाथि चुनौतीको चाङ छन् । चुनौतीको चाङबीच उनलाई अप्राकृतिक किसिमले मुख्य सचिव बनेको आरोप लागेकाले उनले प्रभावकारी र स्वाभिमानी रूपमा ‘एस म्यान’ नबनी प्रशासनको साख उच्च बनाउने गरी काम गरेमा उनीमाथि लागेको आरोपको खण्डन हुनसक्ने देखिन्छ ।

हालका मुख्य सचिव शंकरदास वैरागीको अवकाशको समय साढे चार महिना रहेकै अवस्थामा उनलाई अन्यत्र पठाएर यही ३ असारमा सेवानिवृत्त हुने क्रममा रहेका अर्याललाई मुख्य सचिव बनाइएको हो । यसैकारण यसलाई सरकारको अप्राकृतिक कदमको रूपमा हेरिएको छ । सरकारको यस्तो कदमले प्रशासनमा अनुमानयोग्य बढुवा प्रणालीमा गम्भीर क्षति पुग्ने र प्रशासनमा क्षयीकरण हुने विज्ञहरूले बताएका छन् । यसले प्रशासनलाई चरम अस्थिर र भद्रगोल बनाउन सक्ने भन्दै प्रशासनविद्ले चिन्ता व्यक्त गरेका छन् ।

मुख्य सचिवले आफ्नो पूरै अवधि नसकाउँदै छोड्ने अवस्था आउनु र उनको कार्यकाल नसकिँदै अर्को व्यक्तिलाई मुख्य सचिव बनाउने प्रवृत्तिका कारण यसलाई नाटकीय र अप्राकृतिक रूपमा हेरिएको प्रशासनविद् श्यामप्रसाद मैनालीले बताए । कुनै विधि पद्धतिभन्दा पनि प्रधानमन्त्रीको तजबिजमा मुख्य सचिव ल्याउने तथा पुरानो मुख्य सचिवले सहजै छोड्ने प्रवृत्तिले प्रशासनलाई गम्भीर क्षयीकरण तर्फ लैजाने प्रशासनविद् मैनालीको तर्क छ ।

मुख्य सचिव वैरागीले पूरै अवधि अर्थात १४ असोजसम्म काम गरेको अवस्थामा अर्याल यही ३ असारमा स्वतः सेवानिवृत्त हुने भएकोले उहाँलाई मुख्य सचिव हुने कुनै पनि अवसर थिएन् । मैनालीले भने–‘मुख्य सचिवको पदावधि नसकिँदै यसरी अर्याललाई ल्याइनु नाटकीय र अप्राकृतिक हो, यसले प्रशासनमा दूरगामी असर पार्छ । यद्यपि, यो प्रवृत्ति भने नयाँ होइन यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र त्यसअघि प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा पनि मुख्य सचिव बनाउँदा यस्तै अप्राकृतिक खेल खेलिएको थियो ।’

अन्तिम अवस्थामा आएर अर्याल एक्कासी मुख्य सचिव भएको भन्दै प्रशासन क्षेत्रमा विभिन्न खाले अनुमान गर्न थालिएको छ । सचिवको नियमित अवकाश हुनेभन्दा केही दिन अघि राजीनामा दिएमा केही बढी पेन्सन पाउने आशासहित अर्याल २५ जेठसम्म राजीनामा दिने मनस्थितिमा रहेको बताइन्छ । यद्यपि, त्यसपछि भने नयाँ घट्नाक्रम विकसित भएको र अर्याल मुख्य सचिव बन्ने वातावरण सिर्जना भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै एक सचिवले बताए ।

उनले भने– ‘ठुलै चलखेल भएको देखिन्छ, नत्र तत्कालीन मुख्य सचिवले हामीसँग १४ असोजसम्मै रहन्छु भनेर बारम्बार भन्नुभएको कुरा के नाटक मात्रै होला र ? प्रधानमन्त्री कार्यालयकै ती सचिवले प्रश्न गर्दै भने ‘वैकुण्ठ अर्याल पनि केही दिनदेखि राजीनामा बोकेर हिँडिरहेको छु भन्नुहुन्थ्यो त्यता पनि अर्को नाटक भएछ ।’ मुख्य सचिव शंकरदास वैरागीले पनि सहकर्मीहरूसँग केही दिन अघिसम्म आफू १४ असोजसम्मै रहने र त्यसअघि कतै नजाने अभिव्यक्ति दिने गरेको बताइन्छ । तर, दुई तीन दिनअघि मात्रै उनी पनि एक्कासी सुरक्षा परिषद् सल्लाहकारमा जान सहमत भएका थिए । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित समाचार...