२१ बैशाख २०८१, शुक्रबार

सेनाको सुझाव लत्याएर नीजि कम्पनीलाई हेलिपोर्ट बनाउन सहमति

ministry of culture tourism nepal ghatana

सरकारले निजी हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरलाई काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१४, राउतगाउँको माथिल्लो भाग इटापु डाँडामा हेलिपोर्ट निर्माण गर्न सैद्धान्तिक सहमति दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको जेठ २६ गतेको मन्त्रीस्तरीय निर्णयद्वारा सहमति दिइएको हो।

सहमति सिम्रिक एयरको निवेदनका आधारमा गरिएको हो र यसमा कुनै प्रतिस्पर्धा गरिएको छैन। त्यसका लागि रक्षा मन्त्रालयमार्फत नेपाली सेनाको राय भने लिइएको छ तर उक्त सुझावमा भने निजी कम्पनीलाई त्यसरी अनुमति दिन नहुने रहेको छ।

रक्षा मन्त्रालयले नेपाली सेनाको प्रधानसेनापतिको कार्यालय जङ्गी अड्डाबाट वैशाख ६ मा निजी कम्पनीलाई हेलिपोर्ट निर्माण तथा सञ्चालन गर्न दिँदा विभिन्न आन्तरिक सुरक्षा, तस्करी तथा गैरकानुनी गतिविधि निगरानीरनियन्त्रण गर्ने काम चुनौतीपूर्ण हुने हुँदा सुरक्षा संवेदनशीलता बढ्न जाने भएकाले निजी कम्पनीलाई हेलिपोर्ट निर्माण र सञ्चालन गर्न दिन नहुने सुझाव दिएको थियो। रक्षा मन्त्रालयले अध्ययन गरेर मात्रै अनुमति दिन सुझाव दिए पनि उक्त सुझावको बेवास्ता गर्दै सिम्रिकलाई हेलिपोर्ट निर्माण गर्न दिन स्वीकृति दिएपछि उक्त निर्णय विवादमा तानिएको छ।

सिम्रिक एयरले २०७९ फागुन १९ मा काभ्रेको बनेपा नगरपालिका–१४, राउतगाउँको माथिल्लो भाग इटापु डाँडामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हेलिपोर्ट निर्माण तथा सञ्चालनका लागि आशयपत्र उपलब्ध गराइदिन पर्यटन मन्त्रालयलाई पत्राचार गरेको थियो।

सिम्रिकको निवेदनपछि फागुन १९ गतेको पर्यटन सचिवस्तरीय निर्णय अनुसार रक्षा मन्त्रालय र गृह मन्त्रालयलाई निजी हवाई कम्पनीबाट हेलिपोर्ट निर्माण सम्बन्धमा उपयुक्त रायरसुझाव उपलब्ध गराइदिन फागुन २६ मा पत्राचार गरिएको थियो। लगत्तै गत वैशाख १० मा गृह र वैशाख १४ मा रक्षा मन्त्रालयले पर्यटन मन्त्रालयलाई सुझाव दिएका थिए।

पर्यटन मन्त्रालयका अनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काभ्रे, सम्बद्ध वडा कार्यालय, स्थानीय बासिन्दा, जिल्ला प्रहरी कार्यालय र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयबाट सकारात्मक राय दिएको थियो।

रक्षा मन्त्रालयले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप सहजीकरण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले भक्तपुर नलिञ्चोकमा हेलिपोर्ट निर्माण गर्ने योजना रहेकाले सरकारी तहबाट नै हेलिपोर्ट निर्माण तथा सञ्चालन गर्नाले नीतिगत, भौतिक पूर्वाधार निर्माणमा एकरूपता तथा स्तरयुक्त एवं समग्र सुरक्षात्मक उपाय अवलम्बन सुनिश्चित हुने हुँदा निजी कम्पनीबाट यस किसिमका महत्त्वपूर्ण र संवेदनशील हवाई भौतिक पूर्वाधार निर्माणमा सतर्क हुनुपर्ने राय दिएको थियो।

त्यसै गरी रक्षाले अतिसंवेदनशील कार्य नेपाल सरकारबाहेक अन्य निकायलाई समानान्तर हुने गरी गर्न दिन सुरक्षाका दृष्टिले उपयुक्त नहुने र भविष्यमा देशका अन्य संवेदनशील क्षेत्रमा समेत निजी कम्पनीबाट यस प्रकारका हेलिपोर्ट निर्माण तथा सञ्चालन गर्न माग हुन सक्ने हुँदा सुरक्षा चुनौती बढ्ने मन्त्रालयलाई दिएको सुझावमा उल्लेख छ।

पर्यटन मन्त्रालयले हेलिपोर्ट निर्माणसम्बन्धी निर्णयसहितको बेहोराको पत्र जेठ २८ गते नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाइसकेको छ। हाल प्राधिकरणले भक्तपुरको नलिञ्चोकमा २७ वटा हेलिकोप्टर उडान तथा अवतरण हुन सक्ने गरी हेलिपोर्ट बनाइरहेको छ। १५ करोड रुपियाँ खर्चिएर निर्माणाधीन उक्त हेलिपोर्ट आगामी असारबाटै सञ्चालनमा ल्याउने तयारी छ। विमानस्थलको ठीक पारिपट्टि डाँडामा पर्यटन मन्त्रालयले सिम्रिक एयरलाई अर्को हेलिपोर्ट बनाउने अनुमति दिएको हो।

त्यसै गरी एयर ट्राफिक सेवा तथा व्यवस्थापन, जलवायु सेवालगायतका विषयमा सेवा कसले र कसरी दिने भन्ने समस्याबारे समेत प्रश्न उब्जाएपछि मन्त्रालयले गरेको निर्णय कार्यान्वयनमा आउन समस्या हुने प्राधिकरणले जनाएको छ। गोरखापत्र दैनिकबाट

    सम्बन्धित समाचार...