२२ बैशाख २०८१, शनिबार

सभामुखले उद्‍घाटन गरेको शैक्षिक मेला बालेनले गराए बन्द

1686827430 WNwd5

शिक्षा मन्त्रालयबाट अनुमति लिई बिहीबार सुरु भएको ‘कान्तिपुर हिसान शैक्षिक मेला एडुफेयर’ काठमाडौं महानगरपालिकाले अचानक रोकेको छ। मेला पु:न सञ्चालनका लागि बिहीबार अबेरसम्म महानगरसँग भएकाे छलफल टुंगोमा पुग्न सकेको छैन ।

कक्षा ११ र स्नातक तहमा भर्नाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर राजधानीका ७५ शिक्षण संस्थाको सहभागितामा मेला आयोजना गरिएको थियो । करिब दुई लाख विद्यार्थी तथा अभिभावक आउने अपेक्षासहित सहित सुरु भएको शैक्षिक मेलाको उदघाटन सभामुख देवराज घिमिरेले गरेका थिए ।

बिहीबार बिहानबाट सुरु भएको मेला बन्द गराउन नगर प्रहरीका प्रमुख राजु पाण्डेको नेतृत्वको टोली अपरान्ह मेलास्थल भृकुटीमण्डप पुगेको थियो ।

शिक्षा मन्त्रालयको शैक्षिक परामर्श शाखाबाट अनुमति लिई जिल्ला प्रशासन कार्यालय र काठमाडौं महानगरपालिकालाई जानकारी दिएर मेला आयोजना गरिएको आयोजकको भनाइ छ । हिसान उपाध्यक्ष तथा मेला आयोजक टंकराज आचार्य भन्छन्, ‘एसईई र कक्षा १२ को परिक्षा दिएर नतिजा पर्खिरहेका विद्यार्थी तथा तिनका अभिभावकले त्यसपछिको शिक्षाका बारेमा चासो राख्छन्, त्यसैले उपयुक्त अन्तरक्रियाको फोरमको रुपमा मेला आयोजना गरिएको हो ।’

एसईई तथा कक्षा १२ को नतिजा सार्वजनिक नहुँदै शैक्षिक मेला आयोजना गरिएको भन्दै रोक लगाएको महानगरको शिक्षा विभागले जनाएको छ । विभाग प्रमुख सीताराम कोइरालाले मेलामा विद्यार्थी भर्ना गराउने, शुल्क र छात्रवृत्तिबारे जानकारी गराउने लगायत गतिविधि भएको र त्यसैको आधारमा मेला बन्द गराउन निर्देशन गरिएको बताए ।

महानगरले आपत्ति जनाएसँगै आयोजकले विद्यार्थी भर्ना आकर्षित हुने गरी शुल्क विवरण वितरण नगर्ने, छात्रवृत्ति लगायतका विषयमा पनि जानकारी नदिने, शिक्षा मन्त्रालय र काठमाडौं महानगरपालिकाको निर्देशन अनुशरण गर्ने प्रतिबद्धतासहितको निवेदन महानगरलाई दिएका छन् ।

तर, शुक्रबारदेखि मेला हुने, नहुने विषयमा महानगरले कुनै निर्णय नदिएको छैन। आचार्यले भने, ‘महानगरको जवाफ कुरिरहेका छौं।’

शिक्षा विभाग प्रमुख कोइरालाले शुक्रबार बिहान पुनः एक पटक छलफलमा बस्ने सल्लाह भएको जनाए । तर, उनले एसईई पछि मात्रै मेलाको अनुमति दिन सकिने निर्देशन आएको बताए ।

मेलामा कक्षा ११ र १२ पठनपाठन गराउने विद्यालयदेखि काठमाडौं विश्वविद्यालय, त्रिभुवन, पोखरा, पूर्वाञ्चल लगायत विश्वविद्यालयबाट सम्बन्धन पाएका ७५ कलेजको सहभागिता थियो ।

‘उत्कृष्ठ शिक्षा नेपालमै’ भन्ने नारा दिएर मेला जेठ ३२ देखि असार ३ गतेसम्मका लागि मेला आयोजना गरिएको थियो । हिसान वरिष्ठ उपाध्यक्ष युवराज शर्मा भन्छन् ‘बिदेश जान बाध्य विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा दिन सकिने शिक्षण संस्था छन्, तिनलाई चिनाउन र सचेतना गर्न दिन मेला आयोजना गरिएको हो, यस्तो कार्यक्रम रोकियो भने दुर्भाग्यपूर्ण हुनेछ।’

    सम्बन्धित समाचार...