३ जेष्ठ २०८१, बिहीबार

‘आदिपुरुष’ले पायो नेपालमा प्रदर्शन अनुमति, आइतबारसम्म नेपालमा रिलिज नरोकिने

adipurush

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय फिल्म आदिपुरुषको सम्वादलाई लिएर आपत्ति जनाएका छन् ।

आदिपुरुष रहेको ‘जानकी भारतीय छोरी हुन्’ सम्वाद हटाउन मेयर शाहले माग गरेका छन् । उनले सो सम्वाद नसच्याए काठमाडौं महानगरपालिकाभित्र कुनै हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका छन् । यसका लागि उनले तीन दिनको समयसमेत दिएका छन् ।

मेयर शाहले सामाजिक सन्जालमा लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभइ भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ ।’

जानकी भनेको राजा जनककी छोरी सीताको अर्को नाम हो । उनकै नाममा जनकपुरधाममा जानकी मन्दिर रहेको छ ।

दक्षिण भारतीय सिनेमा ‘आदिपुरुष’ शुक्रबारदेखि काठमाडौंका हलमा प्रदर्शन हुन लागेका बेला मेयर शाहको यस्तो चेतावनी आएको हो ।

बालेनको स्टाटस सार्वजनिक भएसँगै धेरैले भोलीबाट रिलिज हुन लागेको फिल्म नेपालमा रिलिज हुन्छ या हुदैन भनेर अन्यौलता व्यक्त गरिरहेका छन् । 

बालेनले दिएको चेतावनी अनुसार, यो संवाद सच्याउनका लागि ३ दिनको अल्टिमेटम दिइएको हो । यसैले, आइतबारसम्म काठमाडौं महानगरपालिका भित्र ‘आदिपुरुष’ रिलिज हुनेछ । यदि, आइतबारसम्म पनि भारतमा यो संवाद नहटाइएको खण्डमा सोमबारदेखि संवाद नसच्चिएसम्म कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी बालेनको छ । 

मेयर शाहको सचिवालयले दिएको जानकारी अनुसार, भोलीबाट नै फिल्म रोक्न लागिएको होइन । ३ दिनसम्म पनि संवाद नसच्चिए सोमबारदेखि काठमाडौं महानगरपालिका भित्रका सबै हलमा कुनै पनि हिन्दी फिल्म रिलिज हुने छैनन् । 

‘आदिपुरुष’लाई प्रदर्शन अनुमति

अन्ततः विवादित संवाद फिल्मबाट हटाइएपछि नेपाली सेन्सर बोर्डले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति दिएको छ । बिहीवार राती ८ बजे सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमति पत्र वितरकलाई दिएका हुन् ।

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यमा आपत्ति जनाउँदै बिहीवार अपरान्ह बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो । भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाएपछि मात्र बोर्डले अनुमति दिएको हो ।

सेन्सर बोर्डको अनुमतिपछि ‘आदिपुरुष’ शुक्रबार नेपालमा रिलिज हुने पक्का भएको छ । तर, काठमाडौं महानगरका मेयर बालेन शाहको फेसबुक स्टाटसले भने संशय पैदा गराएको छ ।

    सम्बन्धित समाचार...