१७ बैशाख २०८१, सोमबार

नेपाल एयरलाइन्सले सुरु गर्‍यो मलेसिया भैरहवा उडान

nepal airlines bhairahwa B5jIZClcak

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमले पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान गरेको छ ।

विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको १५८ सिट क्षमताको न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा अवतरण गरेको हो । बिहान ८:५० बजे निगमको विमान अवतरण गरेको हो । करिब सय यात्रु मलेसियाबाट नेपाल आएको निगमका अध्यक्ष युवराज अधिकारीले जनाए ।

कार्यतालिकाअनुसार बिहान साढे ७ बजे हवाइजहाज अवतरण गर्ने भनिएको थियो । तर, प्राविधिक कारणले विमान अवतरणमा केही ढिला भएको थियो । नेपाली वायुसेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुको स्वागत गर्न पर्यटनमन्त्री सुदन किराती भैरहवा पुगेका थिए ।

विमानमा केही मलेसियाका पर्यटन व्यवसायीसहित भैरहवामा अवतरण गर्ने यात्रु थिए भने बाँकी काठमाडौं ओर्लिने थिए । निगमले गरेको पहिलो भैरहवा उडानमा आमन्त्रण गरिएका मलेसियाका पर्यटन व्यवसायीहरु भने भैरहवामा अवतरण भएपछि लुम्बिनी भ्रमण गरी काठमाडौं गएर मलेसिया फर्किने अध्यक्ष अधिकारीले जानकारी दिए ।

२०७९ जेठ २ देखि भैरहवा विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो । राष्ट्रिय ध्वजावाहक विमानले भैरहवाबाट उडान थालेपछि सकारात्मक सन्देश जाने र थप कम्पनीहरु आकर्षित हुने अपेक्षा गरिएको छ ।

    सम्बन्धित समाचार...