२१ बैशाख २०८१, शुक्रबार

यस वर्षको अधिकतम तापक्रम ४४ दशमलव ८ डिग्री सेल्सियस

temperature

यसवर्ष हालसम्म नेपालको अधिकतम तापक्रम ४४ दशमलव ८ डिग्री सेल्सियस रेकर्ड भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नवलपरासीको दुम्कौली स्टेसनमा जेठ २६ गते यस वर्षको सबैभन्दा बढी तापक्रम रेकर्ड भएको हो ।

नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९८ मा धनगढीमा ४६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो । पश्चिमी वायुका कारण पूर्व र पश्चिमका पहाडी क्षेत्रमा सामान्य वर्षा भए पनि मध्य तथा पश्चिम तराईका भूभागमा अत्यधिक गर्मी हुने महाशाखाले जनाएको छ । यस्तै, सामान्यतः जेठ ३० गते भित्रने मनसुन यस वर्ष चार दिनपछि सुरु हुने महाशाखाले जनाएको छ ।

पूर्वबाट भित्रिदैँ गरेको बंगालको खाडीको मनसुनी वायु र पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले केही दिन देशका पहाडी क्षेत्रमा चट्याङसहित सामान्य वर्षा हुने महाशाखाको भनाइ छ ।

‘इन्द्र पूजा’ गरियो

लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कौलीमा ‘इन्द्र पूजा’ गरिएको छ। देवचुली नगरपालिका–१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले सामूहिकरुपमा इन्द्रको पूजा गरेका हुन्। जेठको अन्तिम हुँदा पनि पानी नपर्दा खडेरीका कारण खेतबारीमा लगाइएको तरकारी तथा अन्नबालीका साथै फलफूल सुक्न थालेपछि स्थानीयले पानी पारिदिन आग्रह गर्दै वैदिक मन्त्रसहित इन्द्रको पूजा गरेका हुन्।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष तिलप्रसाद पाठकले मन्दिरमा पूजाआजा गरी नजिकै रहेको नारायणी नदी किनारमा पुगेर पानी मागिएको बताए।

इन्द्रको पूूजा गरेमा पानी पर्ने जनविश्वासका साथ गाउँका सबै जना भेला भएर इन्द्र पूूजा गरिएकोे उनले बताए। उनले भने, “देशको अन्य स्थानभन्दा दुम्कौलीको तापक्रम अधिक बढेको कारण स्थानीय भेला भएर धूमधामका साथ इन्द्रको पूजा गरेका हौँ।” जेठको सुरुदेखि नै तापक्रम वृद्धि भइरहेको दुम्कौलीमा शुक्रबार यस वर्षको सबैभन्दा बढी ४४ डिग्री सेल्सियस तापक्रम पुगेको थियो।

दिव्यधाम मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णचन्द्र बस्ताकोटीले गर्मीका कारण दैनिक जनजीवन प्रभावित हुनुका साथै कृषकले खेतबारीमा लगाएको मकै सुकेका बताए। “घोगा लाग्ने बेलाको मकै खडेरीका कारण झर्यामझुरुम भएर सुकेको छ”, उनले भने, “मकैमात्रै होइन कृषकले लगाएको केराबाली सुक्न लागे पानी नपर्दा बर्खे धानको बीउ राख्नसमेत ढिला भइसकेको छ।” इन्द्र खुसी भएमा पानी पारिदिने जनविश्वाससहित स्थानीयले मन्दिरमा ब्रह्मणद्वारा पाठ पारायणसहित हवन गर्नुका साथै भजनकीर्तनसमेत गरेका थिए।

    सम्बन्धित समाचार...