३ जेष्ठ २०८१, बिहीबार

सुदूरपश्चिममा अत्यधिक गर्मी, जनजीवन प्रभावित

temperature hot

केही दिनदेखि बढेको गर्मीले कैलाली, कञ्चनपुर लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले मङ्गलबारदेखि कैलाली, कञ्चनपुर लगायत जिल्लाको तापक्रम वृद्धि भएको जनाएको छ ।

कार्यालय प्रमुख सिङ्गल चौधरीले शनिबार ४० दशमलव छ डिग्री तापक्रम मापन गरिएको बताए । “मङ्गलबारसम्म यहाँको तापक्रम ३७ डिग्री थियो अहिले बढेर ४० दशमलव छ पुगेको छ”, उनले भने, “बिहीबार र शुक्रबार ४० दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको थियो ।”

महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले गर्मीमा अत्यावश्यक कामबाहेक बाहिर नआउन आग्रह गरे। “गर्मीका कारण ज्वरो आउने, आलश्य हुने चक्कर आउनेलगायतका रोग हुन सक्छन् सबैले सतर्कता अपनाउनुपर्छ”, उनले भने, “बाहिर निस्कनुपरे छाता आढ्ने, चश्मा लगाउने प्रशस्त मात्रामा पानी खाने गर्नुपर्छ ।”

अत्यधिक गर्मी बढेपछि यहाँको जनजीवन प्रभावित बनेको हो । गर्मी बढेपछि कैलालीमा चार दिनका लागि विद्यालय बन्द गरिएको छ भने कञ्चनपुरमा जिल्ला समन्वय समितिले सूचना जारी गर्दै बिहान १० बजेभित्र मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

“अहिले जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ, खोप केन्द्र पनि विद्यालयमै छन्”, उनले भने, “खोप अभियानका कारण बिहान १० बजेभित्र मात्रै विद्यालय सञ्चालन गर्न सबै पालिकालाई पत्राचार गरेका छौँ ।” गर्मीका कारण विद्यालय जाने बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका हुन् ।

सोमबारबाट गर्मी कम हुँदै जाने

सोमबारबाट नेपालमा मौसमी प्रणाली सक्रिय हुने सम्भावना देखिएसँगै गर्मी घट्ने भएको छ । शनिबार कोसी, मधेस प्रदेश र वागमतीको केही स्थानमा बादल लागेका कारण केही शीतल महसुस भएको छ । शुक्रबारको तुलनामा हिजो शनिबार गर्मी कम हँुदै गएको छ । मौसमविद् गोविन्द झाका अनुसार आज आइतबारबाट कोसी, गण्डकी, वागमती र मधेश प्रदेशको केही भागको आकाश बादलले ढाक्नेछ ।

भारतको केरलाबाट बिहीबारबाट नेपाल भित्रिन लागेको मौसम नेपालमा प्रवेश गर्नेक्रममा रहेको मौसमविद् झाको भनाइ छ । उहाँका अनुसार सुदूरपश्चिम पश्चिम तराईमा गर्मी घट्न केही दिन लाग्नेछ । त्यसपछि दशैभर मौसम भित्रने सम्भावना रहेको छ । अब मधेस प्रदेशमा एक सातादेखि लागेको लु बहने क्रम रोकिनेछ । मौसममा सुधार भएको वर्षा हुने सम्भावना देखिएको छ ।

मौसमविद् झाले शनिबार दिउँसोबाट वागमती र कोसी प्रदेशको पहाडी क्षेत्रका केही भागमा हल्का वर्षा भएको जानकारी दिए। अहिले वर्षा भित्रने क्रम जारी छ, कोसी, वागमतीमा मेघ गर्जनसहित वर्षा हुने अवस्था देखिएको छ ।
अत्यधिक गर्मीका कारण तराईको जनजीवन पूर्णरूपमा प्रभावित हुन पुगेको अवस्थामा सोमबारबाट राहत मिल्ने सम्भावना देखिएको छ ।

गर्मीको कारण पूर्वी र मध्य तराईका सम्पूर्ण विद्यालय बन्द गरिएको छ । स्थानीय तहले शुरूमा एक हप्ता बिदा दिने निर्णय गरेको थियो । गर्मी नघटेको कारण अझै केही दिन विद्यालय बन्द गरिएको छ । बस्तुभाउ चराउन होस् वा अन्य कुनै पनि काम गर्न नसकिने अवस्था पुगेको छ । घरको काम गर्ने सबैले बिहान बाहिर निस्कने, दिउँसो घरमै बसेर साँझपख मात्र अन्य काम गर्न थालेका छन् ।

अत्यधिक गर्मीका कारण पहाड र हिमालका बाहेक तराईका सबै जिल्लाका स्थानीय विद्यालय बन्द गरेका छन् । यो वर्ष नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जेठ २४ गतेसम्मको तथ्याङ्कमा सबैभन्दा बढी ४३ दशमलव ८ डिग्री तापक्रम रेकर्ड भएको छ । सन् २०२३ को यो सबैभन्दा बढी मापन हो ।

    सम्बन्धित समाचार...