२५ बैशाख २०८१, मंगलवार

देव गुरुङ भन्छन्- एमाले परम्परागत संसदीय ‘ह्याङओभर’बाट मुक्त हुन सकेन

devprasad gurung
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङ बजेट निर्माण प्रणालीकै त्रुटिका कारण हरेक वर्ष विवाद भइरहेको औंल्याएका छन् ।

‘विभिन्न नाममा नीति-निर्मातालाई प्रभावित पारेर बिग हाउस, बहुराष्ट्रिय कम्पनी र विदेशी एकाधिकार दलाल पुँजीवादले कुनै न कुनै रुपमा चलखेल गर्ने खोजिरहेको हुन्छ । यो बजेट निर्माण प्रणालीकै त्रुटि हो । त्यसबाट मुक्त गराएर स्वाधीन प्रकारको अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय सहमति वा प्रतिबद्धता जरुरी छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’सँग संवाद गर्दै उनले भने ।

माओवादी महासचिव गुरुङले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले परम्परागत प्रकारको संसदीय ‘ह्याङओभर’बाट मुक्त हुन नसकेको आरोप पनि लगाए । उनले भने, ‘हाम्रो बहस सत्तापक्ष र विपक्षको मोडलमा आग्रह, पूर्वाग्रह र मूढाग्रहमा जाँदो रहेछ । सरकारले जतिसुकै राम्रो काम गरे पनि प्रतिपक्षले विरोध नै गर्नुपर्ने, विरोधका लागि विरोध गर्ने, सरकारमा हुँदा एउटा, बाहिर हुँदा अर्को मापदण्ड बनाउने प्रवृत्ति सुधार गरेर विचार र नीतिकेन्द्रित बहस, चिन्तन र दृष्टिकोण बनाउनु आवश्यक छ ।’ अर्थतन्त्रको सापेक्षता र राजस्वमा आधारित भएर बजेट ल्याइएको दाबी पनि उनले गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति र शक्ति सन्तुलनको सापेक्षतामा सफल भएको गुरुङले बताए । भूराजनीतिक अवस्था हेर्दा अहिले नै सीमा समस्या हल नहुने पनि उनको भनाइ छ । उनले थपे, ‘अहिलेको भूराजनीतिक अवस्था हेर्दा अहिले नै सीमा समस्या हल हुन्छ भन्ने होइन । नक्साका बारेमा आआफ्ना पोजिसन वा अडान स्पष्ट पार्ने कुरा मात्रै हो ।’

कोसी प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा आपसी सहमतिमा तय हुने पनि गुरुङले बताए । उनले थपे, ‘कोसी प्रदेशसभा त्रिशंकु छ । कुनै पनि दलको बहुमत छैन । आवश्यकताका हिसाबले सर्वदलीय सहमति गर्नुपर्ने हो । नेतृत्वमा जजसले दाबी गरे पनि यसलाई आपसी सहमतिका आधारमा टुंग्याउनु उपयुक्त हुन्छ भन्ने लाग्छ ।’ पहिचानसहितको प्रदेश नामकरणको विषयमा निरन्तर आन्दोलन चलिरहेकाले त्यसलाई समेटेर अघि बढ्नु अहिलेको आवश्यकता भएको पनि उनले औंल्याए ।

    सम्बन्धित समाचार...