११ बैशाख २०८१, मंगलवार

हवाई रुट मागेको नेपाललाई भारतले सिर्सा र झुलाघाटमा २ पुल दियो

Prachanda India Modi7

नेपालले महेन्द्रनगरबाट हवाई प्रवेश विन्दु मागेको थियो तर भारतले भने नेपालको सुदूरपश्चिमी क्षेत्र सिर्सा र झुलाघाटमा २ पुल बनाइने आश्वासन मात्र दियो । हवाई रुट विस्तार र पञ्चेश्वर परियोजनासहितका मुद्दामा भने सहमति नै भएन ।

औपचारिक विदेश भ्रमणका लागि बुधबार नै भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणका क्रममा केही पुराना सम्झौता र समझदारी कार्यान्वयनसँगै दुई देशबीचका नयाँ मुद्दामा पनि छलफल हुने नेपालको परराष्ट्र मन्त्रालयको भनाइ थियो ।

धेरैले अपेक्षा गरेको हवाई प्रवेश विन्दुका लागि अनुमति र बहुप्रतिक्षित पञ्चेश्वर बहुद्देश्यीय परियोजनाको विषय पनि प्रधानमन्त्री दाहालको भारत भ्रमणका एजेन्डामा थिए । तर नेपालको मुख्य एजेन्डामै रहेका ती विषयहरूमा भने सहमति भएन । हवाई रुट विस्तार र पञ्चेश्वरको विषयमा ठोस सहमति हुन नसकेपछि अरू नै ७ वटा विषयमा सम्झौता गरियो ।

नेपालले सुदूरपश्चिमको महेन्द्रनगरबाट हवाई प्रवेश विन्दु मागेकोमा कुनै ठोस सहमति भएन । बरू भारतले सुदूरपश्चिमका सिर्सा र झुलाघाटमा थप २ पुल बनाउने सम्झौता नेपालसँग गर्‍यो । यसबारेमा नेपाल र भारतका प्रधानमन्त्रीहरूको संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रधानमन्त्री मोदीले भने, ‘नेपालको सुदूरपश्चिमी क्षेत्रदेखि कनेक्टिभिटिको बढवा दिनको लागि सिर्सा र झुलाघाटमा २ थप पुल बनाइने छ ।’

त्यस्तै पञ्चेश्वर बहुद्देश्यीय परियोजनाबारे पनि कुनै निष्कर्ष निस्केन ।