१५ बैशाख २०८१, शनिबार

यस कारण राजेश हमालसँग फिल्म नै नगर्ने अडानमा थिइन् करिश्मा मानन्धर

rajesh karishma

नेपाली फिल्ममा सबैभन्दा बढी रुचाइएको जोडी हुन्, राजेश हमाल र करिश्मा मानन्धर । फिल्म ‘भाउजु’मा पहिलो पटक एकसाथ काम गरेका उनीहरुको त्यसपछि दर्जनौं फिल्ममा जोडी बाँधियो । उनीहरुको केमेस्ट्री यतिसम्म मिलेको थियो कि दर्शकहरुले ‘रियल कपल’ नै ठान्थे । त्योबेला फिल्मको हिरो-हिरोइन भनेका राजेश हमाल र करिश्मा मानन्धर मात्र हुन् भन्ने आमबुझाइ थियो ।

फिल्ममा करिश्माभन्दा राजेश हमाल जुनियर हुन् । करिश्माले पहिलो फिल्म ‘सन्तान’ गर्दा हमाल भारतमा बसेर पढिरहेका थिए । नेपाल आएपछि फिल्म ‘भाग्य रेखा’मा उनी अनुबन्ध भए । उनको अपोजिटमा करिश्मा पक्का भइन् । त्यसबेलासम्म उनीहरुको एकअर्कासँग भेट भएको थिएन । एकसाथ फिल्ममा काम गर्ने भएपछि करिश्माले हमाललाई उनकै घरमा गएर भेट गरेकी थिइन् ।

९ महिनाअघि सञ्जय गुप्ताको पोडकास्टमा उनले हमालसँगको पहिलो भेटबारे भनेकी छन्, ‘फिल्मको सिलसिलामा मैले उहाँलाई पहिलो पटक उहाँकै घरमा भेटेको थिएँ । उहाँको मामा दीपक रायमाझीले फिल्म गर्नुभन्दा अगाडि एकाध पटक भेट्नुपर्छ भनेपछि मैले राजेशजीको घरमै गएर भेटेको थिएँ ।’ हमालसँगको पहिलो भेटमै करिश्मा उनीसँग फिल्म नगर्ने मनस्थितिमा पुगेकी थिइन् ।

‘पहिलो पटक उहाँलाई भेट्दा भयंकर नै मोर्डन जस्तो लाग्यो । त्यसबेला म सानी पनि थिएँ । उहाँ त पढेलेखेको र उमेरले परिपक्व पनि लाग्यो । त्यसले गर्दा म ‘भाग्य रेखा’ गर्दिनँ भन्नेमा पुगेँ । उहाँको पर्सनालिटीले मलाई त्यस्तो ‘डोमिनेट’ गर्‍यो । मैले त्यो फिल्म साइन गर्दा २ हजार लिएको थिएँ,’ उनी सम्झन्छिन् । उनी राजेश हमालसँग फिल्म नगर्ने मनस्थितिमा पुग्नुमा अर्को घटना पनि छ ।

काठमाडौंको अन्नपूर्ण होटलमा हकी बलको एउटा फेसन शो थियो । त्यो फेसन शोको टपर थिइन्, करिश्मा । उनी साथीभाईसँग बसेर खाना खाँदै थिइन् । त्यही बेला राजेश हमाल आएर नाच्न आग्रह गर्छन् । तर, उनको हातमा काटा थियो र काटामा चाउचाउ झुन्डिरहेको थियो । त्यसपछि त उनले राजेश हमालसँग फिल्म नै नगर्ने अडान लिइन् । यद्यपि, उनले फिल्मको मुहूर्त भने गरिन् ।

मुहूर्तपछि उनले ‘भाग्य रेखा’ छाडिन् । उनले फिल्म छाड्नुको कारण राजेश हमाल नै थिए । उनी सम्झन्छिन्, ‘यो व्यक्ति (राजेश हमाल)लाई त म झेल्नै सक्दिनँ भन्ने भएको थियो । तर, विचरा उहाँले मलाई केही गर्नुभएको थिएन । अलि पछि चाहिँ मैले उहाँसँग डिल गर्न सकेँ । म पनि कम छैन नि भन्ने हुन थाल्यो ।’ करिश्माले ‘भाग्य रेखा’ छाडेपछि राजेश हमाल पनि फिल्मबाट निकालिए ।

उनीहरुबीचको पहिलो भेटको किस्सा पनि निकै रोचक छ । करिश्मा सम्झँदै भन्छिन्, ‘उहाँले तपाईंको ब्याइफ्रेन्ड छ भनेर मलाई सोध्नुभएको थियो । मैले नेपालमा पनि ब्वाईफ्रेन्ड हुन्छ र भनेछु । उहाँले ब्वाईफ्रेन्ड बनाउन विदेश जानुपर्छ र भन्नुभयो । त्यसपछि उहाँले ऐनाको अगाडि उभिएर मभन्दा तपाईं धेरै सानो हुनुहुँदो रहेछ भन्नुभयो । मैले उहाँले बोलेको कुरा बुझ्नै सकिरहेको थिइनँ ।’

‘भाउजु’पछि राजेश हमाल र करिश्माले लगातार फिल्ममा काम गरे । तर पनि करिश्मा ‘कन्सेस’ भने भैराख्थिन् । आखिर किन त ? उनी भन्छिन्, ‘म उहाँसँग निकै कन्सेस हुन्थेँ । मैले राम्रो गरिनँ कि, उहाँले केही भन्ने हो कि जस्तो लाग्यो । किनभने, म उहाँलाई जान्ने मान्छे, सबै कुरा थाहा भएको मान्छे सोच्थेँ ।’ सुटिङको क्रममा आफूहरुबीच कहिल्यै सल्लाह नभएको पनि उनी बताउँछिन् ।

‘म सरोज खनाल, दीलिप रायमाझी, भुवन केसीसँग जसरी सल्लाह गर्थेँ, त्यसरी राजेशजीसँग सुटमा कहिल्यै सल्लाह हुँदैन थियो । रिहर्सल पनि कमै गर्थ्यौं । तर, फेरि एक्सनमा चाहिँ हाम्रो ठीक हुन्थ्यो,’ उनी भन्छिन्, ‘हाम्रो जोडीलाई दर्शकले निकै मन पराउनु हुन्थ्यो । तर, हामीले मिलेर गरेको चाहिँ कहिले पनि होइन । उहाँसँग मलाई कम्फर्टेबल नै हुन्न थियो । पछिसम्म पनि हुँदैन थियो ।’

‘भाउजु’पछि उनीहरुले फिल्म ‘चाहना’मा सँगै काम गरे । त्यसपछि यो जोडीको फिल्ममा सहकार्य टुटेन । एक समय करिश्मालाई हिरो भनेकै राजेश हमाल मात्रै हो कि भन्ने समेत लाग्न थालेको थियो । किनकि, हरेक नयाँ फिल्ममा उनको जोडी हमाल हुन्थे । ‘अल्लारे’, ‘ढुकढुकी’, ‘वसन्ती’, ‘जिन्दगानी’, ‘मिस्टर राम कृष्णे’, ‘यो मायाको सागर’ जस्ता उनीहरुको सफल फिल्ममा गनिन्छन् ।

    सम्बन्धित समाचार...