१५ बैशाख २०८१, शनिबार

पार्टी नेतृत्वप्रति आक्रोशित गगन

gagan 2
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब पार्टीले निर्वाचन अघि कुनै दलसँग गठबन्धन नगर्ने बताएका छन् । आज राजधानीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा आफूहरुले बहुमतको निर्णय मानेर पार्टीमा फरक मत राखेपनि अब निर्वाचनअघि गठबन्धन नगर्ने र बरु त्यसका लागि परे लड्न पनि तयार रहेको बताएका हुन् ।

निर्वाचन अघि गठबन्धनमा गएर मत माग्दै गर्दा तिमीले यो पटक रुखमा मत नहाले हुन्छ । ‘तिमीले हसिया हथौथामा हाले हुन्छ, कलममा हाले हुन्छ, साइकलमा हाले हुन्छ’ भन्दा पार्टीको सिद्धान्तमाथि आँच आएको उनको भनाई छ । यसले क्रांग्रेसका लागि सत्ता नै सबै चिज हो भन्ने ईमेज जनमानसमा परेको उनले बताए ।

‘कांग्रेसका लागि सरकार सबै कुरा हो, कांग्रेसका लागि सत्ता सबै कुरा हो भन्ने हाम्रो ईमेज बन्यो । आज निराशाको मूल कारण यही हो । गल्ती जहाँबाट भएको छ, सच्याउने काम त्यहीबाट गर्नुपर्छ । अहिल्लो बैठकमा पार्टीमा फरक मत राखियो । बहुमतले गरेको निर्णय भनेर मानियो । अब मानिन्न । अब लडिन्छ,’– उनले भने ।

पार्टीले गरेको गल्तीलाई स्विकार गर्दै आम जनतासँग र पार्टीका सदस्यहरुसँग माफी माग्दै कांग्रेस आगामी निर्वाचनमा सहभागी हुन तयार हुनपर्ने उनको भनाई छ । सम्भवतः आगामी भदौमा नीति सम्मेलन हुने र पार्टीले निर्वाचन अघि कुनै दलसँग पनि गठबन्धन नगर्ने संकल्प गर्ने उनले बताए ।

‘अब नेपाली कांग्रेसले चुनावअघि कुनै पार्टीसँग गठबन्धन गर्दैन । तालमेल गर्दैन । भूईँमा बस्नुपरे बसौंला, मञ्च नपाए नपाउला, सकडमा बस्नुपरे बसौंला । तर गर्दैन । यो गल्ती जहाँबाट भएको छ, सच्याउने काम त्यहीबाट गर्नुपर्छ । सम्भवतः हामी भदौमा नीति सम्मेलन गर्छौं । भदौको नीति सम्मेलनबाट कांग्रेसले यो संकल्प गर्छ,’– उनले भने ।

    सम्बन्धित समाचार...