३ जेष्ठ २०८१, बिहीबार

नीति तथा कार्यक्रम बोकेका प्रदेश प्रमुखको फाइल नै खाली भएपछि…

bag

आईतबार दिउँसो बागमति प्रदेशका प्रमुख यादवचन्द्र शर्मालाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रातो ‘कभर’ भएको नीति तथा कार्यक्रमको फाइल पेश गरे ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुखलाई उपलब्ध गराएको फाइल नै खाली भेटियो ।

आज दिउँसो २ बजे बागमती प्रदेशसभामा प्रदेश सरकारले २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सूची थियो । बैठकमा लागि प्रदेश प्रमुखसहित सबै उपस्थित भए ।

प्रदेशसभामा सार्वजनिक गर्नका लागि सिँगारिएको फाइल जसै प्रदेश प्रमुख यादवचन्द्र शर्माको हातमा पुग्यो– उनले उत्साहपूर्वक नीति तथा कार्यक्रमको फाइल खोलेर सार्वजनिक गरे ।

यसलगत्तै बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आह्वान गरे– अब म माननीय प्रदेश प्रमुख…, उनको आवाज यत्तिमै रोकियो । प्रदेश प्रमुख शर्माले देखाएको फाइल त खाली पो थियो, तर उनले पत्तो पाएनन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई वाचन गर्न उपलब्ध गराएको फाइल नै खाली भेटिएपछि प्रदेश प्रमुखसहित सबै अलमलमा परे । फाइलमा नीति तथा कार्यक्रम नै नभेटिएपछि अलमल हुनु स्वाभाविक थियो ।

पछि सांसदलाई वितरण गर्नका लागि प्रदेशसभामा ल्याइएको नीति तथा कार्यक्रम मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई उपलब्ध गराएपछि उनले सभामा वाचन गरे ।

मुख्यमन्त्री जम्कट्टेलले मानवीय कार्यमा गल्ती हुने भन्दै अवस्था सामान्य बनाएका थिए । तर प्रतिपक्षी नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीका सांसदले सरकारले विनातयारी नीति तथा कार्यक्रम ल्याउँदा भद्रगोलको अवस्था सिर्जना भएको भन्दै आपत्ति जनाए ।

    सम्बन्धित समाचार...