
जर्मन लिग बुन्डेश लिगामा बायर्न म्युनिख लगातार ११ औँ पटक च्याम्पियन बनेको छ।
गएराति शीर्ष स्थानको बोरुसिया डर्टमन्ड मेन्जसँग बराबरीमा रोकिँदा बायर्न लिगको अन्तिम दिन कोलोनलाई २ – १ गोलले हराउँदै ३३ औँ पटक जर्मनको च्याम्पियन बनेको हो ।
कोलोनको घरेलु मैदानमा भएको खेलको ८ औँ मिनेटमै किंग्सले कोमनले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ सकिनु अघि लेरोय सानेले गोल गरे पनि पछि भिडियो रिभ्युमा उनको ह्यान्ड बल भएको देखिएपछि गोलले मान्यता पाएन ।
डेजान लुभिचले खेलको ८० औँ मिनेटमा पेनाल्टीमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । त्यसको ९ मिनेटपछि सानेले कोलोनका गोलरक्षकलाई बिट गर्न सकेनन् । सोही बलमा जमाल मुसियालाले उत्कृष्ट गोल गर्दै टिमको जित सुनिश्चित बनाएका हुन् ।
खेल अवधिभर सालिहामडिच लगायतका बायर्नका मालिकहरुले डर्टमण्डको नतिजासमेत हेरिरहेका थिए । बायर्नले आफूले जितेर मात्रै नहुने र डर्टमण्डले पराजय अथवा अंक गुमाउनु पर्ने अवस्था भएकाले निकै रोमाञ्चक बनेको माहोलमा अन्तत बायर्नले बाजी मार्यो ।
थोमस टुखेल बायर्न आएको पहिलो वर्षमै प्रशिक्षकका रुपमा उपाधि जित्न सफल भए । ३४ औँ खेलमा बायर्नले ७१ अंक बनाउँदै लिग जित्न सफल भएको हो । समान अंक जोडेको डर्टमण्ड भने गोल अन्तरले पछि पर्यो ।
लाइपजिकले तेस्रो र युनियन बर्लिन चौथो स्थानमा रहँदै आगामी सिजनको युएफा च्याम्पिन्यस लिगमा स्थान पक्का गरे । हर्था बर्लिन र साल्के दोस्रो श्रेणीमा घटुवा भएका छन् । स्टटगर्ट रेलिगेसनको प्ले अफमा परेको छ ।