४ जेष्ठ २०८१, शुक्रबार

महालेखाको प्रश्न : शिवलिंगको रिङमा लगाएको सुन खोई ?

pashupatinath

पशुपतिनाथको जलहरी निर्माणमा प्रयोग भएको सुनको चर्चा यतिबेला सदन र सामाजिक सन्जालका भित्तादेखि चिया पसलसम्म चलेको छ । माओवादीका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीमा पित्तल लगाइएको छ कि सुन भनेर संसदमा गरेको प्रश्नले हंगामा मच्चिएको छ । यही विषयलाई लिएर नेकपा एमालेले शुक्रबार संसद नै चल्न दिएन ।सांसद दाहालले माफी माग्नुपर्ने एमाले नेताहरुको माग छ ।

पशुपतिनाथमा रहेको शिवलिंगको गर्भगृहलाई सुनको जलहरीले ढाक्ने निर्णय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला भएको थियो । झण्डै १ सय ८ किलो सुन प्रयोग गरेर जलहरी ढाक्ने निर्णयलाई प्रधानमन्त्री ओलीले आफ्नो प्रतिष्ठाको विषय ठानेका थिए । यही कारण सुनको जलपमाथि प्रश्न उठेपछि ओली आक्रोशित देखिए र उनले शुक्रबार संसद अवरुद्ध गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिए ।

पशुपतिको सुनबारे प्रश्न उठेलगत्तै महालेखा परीक्षकको प्रतिवेदन पनि चर्चामा आएको छ, तर अहिलेको हैन, गतसालकै ५९ प्रतिवेदन । जसमा पशुपतिको जलहरी निर्माणमा प्रयोग भएको सुनमा गडबडी भएको औंल्याइएको छ ।

के छ भन्छ महालेखाको प्रतिवेदन ?

गत सालको महालेखा प्रतिवेदनले पशुपतिको सुनको जलहरीबारे उठाएको प्रश्नबारे गत साल खासै चर्चा भएन । तर, एक वर्षपछि आएर सो प्रतिवेदन सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

महालेखाको प्रतिवेदनमा सुनको परिणाममाथि गडबडी औंल्याउँदै भनिएको छ-

“पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि यो वर्ष नेपाल राष्ट्र बैङ्कबाट १०३ किलो ७७३ ग्राम सुन रू ८० करोड ११ हजारमा खरिद गरेको छ । विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिङ्क १२।७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४।७५ ग्राम सुन कायम भएको उल्लेख छ।

निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ्ग बनाई जलहरीमा लगाएको उल्लेख छ। रिङ्ग बनाउन प्रयोग भएको सुनको मूल्य रू। ७ करोड ८६ लाख ४६ हजार रहेको छ । जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन ।

पशुपति क्षेत्र विकास कोष आर्थिक प्रशासन (दोस्रो संशोधन २०६२ ) नियमावली, २०४५ नियम ३।४।१।१ अनुसार दाताहरूबाट प्राप्त चन्दा अनुदान भेटीघाटी लगायतको सम्पूर्ण रकम कोषको केन्द्रीय खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ । सञ्चालक परिषद्को २०७७।१०।१४ को बैठकले सुनको जलहरी निर्माण कार्यको लागि आवश्यक ज्याला दातामार्फत् सोझै कालीगढलाई भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय भएको देखिन्छ । सुनको खरिद कार्य रू।८० करोड ११ हजारमा भएको देखिन्छ । सो जलहरी निर्माण कार्यको लागि दाताबाट व्यहोरेको रकमको हिसाब लेखाङ्कन गरेको छैन । पाटन औद्योगिक क्षेत्रको एक रोलिङ्ग मिल्समार्फत् उक्त निर्माण कार्य गराएकोमा मिल्ससँग भएको सम्झौता र संलग्न १३ जना कालीगढलाई भुक्तानी भएको विवरण पेस गरेको छैन । सबै प्रकारका आम्दानी र खर्चको विवरण कोषबाट नै लेखाङ्कन हुनुपर्नेमा परिषद्ले दातामार्फत् ज्याला सोझै भुक्तानी गर्ने व्यवस्था उल्लेख गरेकोले दाताबाट प्राप्त नगद एवं जिन्सी आम्दानी खर्चको लेखाङ्कन नभएकोले जलहरी निर्माण कार्यमा भएको खर्चको यथार्थ अवस्था यकिन हुन सकेन । सो रकम यकिन गरी कोषको खातामा आम्दानी बाँधिनुपर्दछ । नियमावलीअनुसार प्राप्त चन्दा अनुदान भेटीघाटीलगायतको सम्पूर्ण रकम कोषको केन्द्रीय खातामा जम्मा गर्ने व्यवस्था गरिनुपर्दछ ।”

mahalekha59 1685115143

यस वर्ष पनि रोकिएन पशुपतिको बेथिति

त्यसो त पशुपतिनाथ जस्तो हिन्दुहरुको आस्थाको केन्द्रमा अनियमितता र बेथिति यसवर्ष पनि उस्तै रहेको महालेखाको ६० औं प्रतिवेदनले पनि औंल्याएको छ । दान भेटीको अभिलेख तथा व्यवस्थापनमा अनियमितता भएको जनाउँदै महालेखाको प्रतिवेदनले भनेको छ–

“पशुपति क्षेत्र विकास कोष मन्दिर तथा पूजा व्यवस्था नियमावली, २०६८ को नियम ७७ बमोजिम कुनै व्यक्तिले श्रीपशुपतिनाथ मन्दिर तथा मन्दिर प्राङ्गणभित्र रहेका अन्य मठमन्दिरमा सुन चाँदीजस्ता बहुमूल्य धातु र त्यस्ता धातुले बनेका सामान वा भाँडाकुँडा वा वस्त्रलगायत अन्य जिन्सी सामान चढाउन चाहेमा कोषमा दर्ता गरेर मात्र चढाउनुपर्ने व्यवस्था छ। सुन चाँदीजस्ता बहुमूल्य धातुहरू कोषमा दर्ता नगराई स्वीकार गर्ने गरेको लगायतको अवस्था देखियो । उल्लिखित अवस्थामा सुधार गरी दान, भेटीको आयलाई थप व्यवस्थित गर्नुपर्दछ।”

महालेखाको ६० औं प्रतिवेदनमा अगाडि भनिएको छ-

“भक्तजन तथा श्रद्धालुबाट पशुपति मन्दिरमा भेटीबापत यस वर्ष रू ४ करोड ५२ लाख ८४ हजार सङ्कलन भएको छ । हरेक दिन १० बजेदेखि बैङ्क प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोषवाट तोकिएको कर्मचारीको रोहवरमा भेटी रकम गणना गर्ने र सोही दिन एक वाणिज्य बैङ्कमा जम्मा हुने गरेकोमा मेटल डिटेक्टर नभएका कारण धातुजन्य सामानको आम्दानी यकिन गर्न कठिनाइ रहेको, पशुपति शिवलिङ्गमा चढाएको भेटीघाटी मेसिनद्वारा नियन्त्रण हुन नसकेको, सन्तानेश्वर महादेव लालगणेश लगायतका सवै मन्दिरको आय कोषमा जम्मा नभएको, पशुपति मन्दिरमा भक्तजनबाट प्राप्त भएको दान दक्षिणालगायत धातुजन्य सामानको पहिचान र वर्गीकरण नगरेको, मन्दिर परिसरमा जडान गरेको सीसीटीभी ब्याकअप ७ दिनको मात्र रहेको अवस्था देखियो ।”

पशुपतिनाथको थप बेथितिबारे महालेखाको ६० औं प्रतिवेदनको अंश- 

    सम्बन्धित समाचार...