६ बैशाख २०८१, बिहीबार

कांग्रेसको नेतृत्व यतिबेला आन्तरिक र बाह्य दुवैतर्फबाट आलोचनाको शिकार

nepali congress

प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसको नेतृत्व यतिबेला आन्तरिक र बाह्य दुवैतर्फबाट आलोचनाको शिकार बनेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता बालकृष्ण खाणलाई निलम्बन नगरेकोमा बाहिरबाट आलोचना भइरहेको छ भने बैठक नबोलाएको र भ्रातृ संगठनलाई निष्कृय बनाएकोमा पार्टीभित्रै असन्तुष्टि बढेको छ । आखिर किन आलोचना खेपिरहेको छ कांग्रेसले ?

संसद्‍को सबैभन्दा ठूलो दल कांग्रेस राष्ट्रिय राजनीति र घटनासँग सम्बन्धित मुद्दामा देखिन र सुनिन छाडेको छ । यतिमात्रै होइन, आफ्नै पार्टीको आन्तरिक जीवनका विषयमा पनि कांग्रेस चुक्दै गइरहेको छ ।

हरेक दलको नीति हुन्छ । सञ्चालनका लागि विधान हुन्छ । तर, पछिल्लो डेढ वर्षयता कांग्रेस न नीति अनुसार चलेको छ न विधानअनुसार । महाधिवेशनको ६ महिनाभित्र हुने भनिएको नीति महाधिवेशन अझै भएको छैन भने २-२ महिनामा हुनुपर्ने केन्द्रीय समितिको बैठकसमेत बस्न सकेको छैन । कांग्रेस नेतृत्वले नक्कली शरणार्थी प्रकरणमा पार्टीकै नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ पर्दा पनि बैठक बसेर औपचारिक धारणा सार्वजानिक गरेको छैन ।

अझै अपूर्ण केन्द्रीय समिति

गुटउपगुटका बीचमा भागबण्डा नमिल्दा १६ भ्रातृ संस्था, २८ शुभेच्छुक संस्था र ८ लाख क्रियाशील सदस्य निष्क्रिय छन् । १६७ सदस्यीय केन्द्रीय समिति अपूर्ण त छँदै छ, सभापतिले कोषाध्यक्षसमेत मनोनीत गरेका छैनन् । भएका केन्द्रीय सदस्य पनि भूमिकाविहीन छन् ।

चौधौं महाधिवेशनबाट पदाधिकारी चुनिएका केही युवा नेताहरुले पनि सभापतिमाथि दबाब बढाउन सकेका छैनन् । तत्कालीन नेतृत्वविरुद्ध आवाज उठाएरै स्थापित भएका सभापति शेरबहादुर देउवाले अहिले त्यही आरोप खेपिरहेका छन् । सीमित नेताहरुको सल्लाहमा चलेको र फरक समूहलाई उपेक्षा गर्ने आरोप पनि देउवामाथि छ ।

केही नेताहरुले पार्टीमा रुपान्तरण अभियान घोषणा गरे पनि त्यसले खासै उत्साह जगाएको छैन । नेतृत्व आफै रुपान्तरण नहुँदासम्म कांग्रेसमा सुधारको सम्भावना देखिँदैन । तर त्यसका लागि कार्यकर्ता तहबाटै दबाब आवश्यक हुन्छ ।