७ बैशाख २०८१, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरण : अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले पनि छानविन गर्ने

bhutani

नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छानवीन गरिरहेको नेपाल प्रहरीले तयार पारेको झण्डै ३ हजार पेजको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौमा बुझाएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने गिरोहबिरुद्ध प्रहरीले राज्य बिरुद्धको अपराध, संगठित अपराधका साथै ठगी मुद्दामा कारवाही हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । गत चैत १२ गतेबाट औपचारिक रुपमा नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा अनुसन्धान शुरु गरेको प्रहरीले आफ्नो तर्फबाट गर्नु पर्ने पहिलो चरणको अनुसन्धान पुरा गरी प्रतिवेदन बुझाएको हो ।

प्रहरीले यो प्रकरणको अनुसन्धानलाई भने खुल्ला राखेको छ । काठमाडौ प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार प्रहरीले पक्राउ परेका १६ जनाको बयानका आधारमा फरार रहेका अन्य व्यक्तिहरुमाथि थप अनुसन्धान गर्नेछ ।

प्रहरीले प्रतिवेदनमा उक्त अभियोगमा पक्राउ परेकाहरुलाई भ्रष्टाचारजन्य अपराधमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अकुत सम्पतिको हकमा सम्पति शुद्धिकरण बिभागले छानवीन गर्नु पर्ने निष्कर्ष पनि निकालेको छ ।

प्रहरीले बुझाएको प्रतिवेदनको बारेमा अध्ययन गर्न सरकारले सर्वोच्च अदालतका एक सह महान्यायाधीवक्ताको संयोजकत्वमा कार्यदल समेत गठन गरेको छ । उक्त कार्यदलले दिएको राय सुझावलाई सरकारी वकिलको कार्यालयले मनन गरी कारवाही अघि बढाउने भएको छ ।

प्रहरीले पक्राउ परेका र फरार रहेका व्यक्तिहरुको बारेमा अभियोजन तयार गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको र सो प्रतिवेदन अध्ययन गरी सरकारी वकिलको कार्यालयले अभियोजनपत्र तयार गरेपछि उनीहरुबिरुद्ध मुद्दा चलाइने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौका सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेको संयोजकत्वको टोलीले उक्त मिसिल अध्ययन गरी अभियोजनपत्र तयार गर्ने जिल्ला अदालत काठमाडौका प्रवक्ता दीपक दाहालले जानकारी दिए ।

सो कार्यदलले अभियोजन तयार गरेपछि आज बुधबार उनीहरुबिरुद्ध अदालतमा मुद्दा दायर हुन सक्ने आंकलन गरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित समाचार...