१६ बैशाख २०८१, आईतवार

लिभरपुलले च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावना बाँकी राख्दा लेस्टर रेलिगेसनको संघारमा

Leicester City v Liverpool

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीमाथि ३ – ० गोलको सहज जित हात पारेको छ । नतिजापछि लिभरपुलले च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावना बाँकी राख्दा लेस्टर भने रेलिगेसनको संघारमा पुगेको छ ।

किङ पावर स्टेडियममा गएराति भएको खेलमा पाहुना टोली लिभरपुलका लागि मोहम्मद सलाहले एसिस्टमा ह्याट्रिक गरे । ३३ औँ मिनेटमा कर्टस जन्सको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । ३६ औँ मिनेटमा उनैले फेरि सलाहकै सहयोगमा गोल गरेपछि योर्गन क्लोपको टोली २ – ० ले अघि रह्यो ।

पहिलो हाफमै तेस्रो गोल गर्ने अवसर लिभरपुलले पाएको थियो । तर कोडी गाक्पोको प्रहार लेस्टर गोलकिपर ड्यानियल इभरसनले बचाए ।

७१ औँ मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्लोन्डको गोलपछि लिभरपुलले जारी प्रिमियर लिगमा लगातार आठौँ जित हात पार्‍यो । यो जितले लिभरपुलको शीर्ष चारमा रहँदै लिग टुंग्याउने सम्भावनालाई जीवितै राखेको छ ।

पाँचौ स्थानमा रहेको लिभरपुलको ३६ खेलबाट ६५ अंक छ । उभन्दा माथि रहेका न्युक्यासल युनाइटेड र म्यानचेस्टर युनाइटेडको ३५ खेलबाट समान ६६ अंक छ । तीनमध्ये दुई खेल जिते दुवै युनाइटेड अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनोट हुनेछन् ।

सन् २०१६ को च्याम्पियन लेस्टर भने रेलिगेसनको नजिक पुगेको छ । पछिल्ला १४ खेलमा लेस्टरले मात्र एक खेल जित्दा ६ अंक बटुलेको थियो । १९ औं स्थानमा रहेको उसको ३० अंक छ । लेस्टरले अब न्युक्यासल र वेस्टह्यामसंग खेल्न बाँकी छ । जारी सिजन साउथह्याम्पटन प्रिमियर लिगबाट घटुवा भइसकेको छ भने म्यानचेस्टर सिटीलाई उपाधिका लागि एक जित आवश्यक छ ।

    सम्बन्धित समाचार...