१५ चैत्र २०८०, बिहीबार

स्वास्थ्यमन्त्रीको प्रतिबद्धता : सुर्तीजन्य पदार्थमा कर बढाएर गरिबको निःशुल्क उपचार गर्छु

Mohan basnet
फाइल फोटो

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।

सिन्धुपाल्चोकको हेलम्बु– ३ स्थित पाल्चोक खानेपानी आयोजना उद्घाटन गर्दै मन्त्री बस्नेतले गरिबले अस्पतालमा गएर उपचार गर्नसक्ने अवस्था नभएको भन्दै यो अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन्।

‘अहिलेको समयमा पनि देशका धेरै ठाउँमा थुन्से र डोकोमा हालेर अस्पतालमा लैजाने बाध्यता छ’, उनले भने,‘सुर्तीजन्य पदार्थमा कर बढाई त्यसबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरिँदैछ।’

उनले आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यले निःशुल्क पढाउने अभियान सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाबाट शुरु भइसकेको बताए। पाल्चोकमा स्वास्थ्य चौकीको भवन व्यवस्थित बनाउन पहल गर्ने पनि उनले बताए।

कार्यक्रममा वागमती प्रदेशका सांसद कृष्णकुमार तामाङले आफ्नो कार्यकालमा सडक र खानेपानीमा धेरै काम गरेको दाबी गरे।

    सम्बन्धित समाचार...