१५ चैत्र २०८०, बिहीबार

तीन नेपाली र तीन विदेशी सगरमाथाको चुचुरोमा, पासाङ दावाले गरे कामीरितासँगको कीर्तिमान बराबरी

evrest

विश्वको सर्वोच्च शिखर सगरमाथामा वसन्त ऋतुको पहिलो सफल आरोहण गरिएको छ । आइतबार बिहान पौने ९ बजे ३ विदेशी र ३ नेपाली गरी ६ जना आरोहीले सगरमाथा चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन् ।

वसन्त यामको पहिलो आरोहण गर्नेमा पाकिस्तानकी नैला कैनी, अमेरिकी महिला आरोही जेसिका राए वेडेल र हंगेरियाकी मार्टोन पेटर प्राइस छन्।

सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोहीको रुपमा पाकिस्तानकी कैनीले सफल आरोहण गरेकी हुन् । नेपालका पासाङ तेम्बा शेर्पाले यस वर्षको पहिलो आरोही बने । पासाङ र कैनीसँगै सगरमाथा आरोहणमा गएका थिए ।

त्यस्तै पहिलो आरोहणबाटै नेपाली आरोही पासाङ दावा शर्पाले २६ औँ पटक सगरमाथा चढेर कीर्तिमान राखेका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर – ४ पाङबोचे निवासी शेर्पाले २६ औं पटक सगरमाथाको शिखर चुमेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहरण गरेका आरोही कामीरिता शेर्पाको कीर्तिमानसँग बराबरी गरेका छन् । आइतबार बिहान ९ बजेर ६ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले कीर्तिमान बनाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । पासाङ दावासँगै हंगेरीकी आरोही मार्टोन पनि सगरमाथा चुचुरोमा पुगेकी इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीले जनाएको छ ।

यसअघि गत वर्षको वैशाख २४ गते कामीरिताले २६ औँ पटक सगरमाथाको सफल आरोहण गर्दै धेरै पटक सगरमाथा चढ्ने कीर्तिमान बनाएका थिए ।

त्यस्तै आज सफल आरोहण गर्नेमा खुम्बु पासाङल्हामु – ५ थामेका पासाङ तेम्बा शेर्पा र सोही गाउँका आङमिङ्‌मा शेर्पा रहेका छन् । आङमिङ्‌मासँग अमेरिकी आरोही जेसिका सगरमाथाको चुचुरोमा पुगेकी हुन् । जेसिका क्यान्सर विजेता हुन् ।

इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाका अनुसार अहिले कतिपय आरोही सगरमाथाको हिलारी स्टेप पुगिसकेका छन् भने धेरै आरोही साउथकोल र आसपास छन् । आज साँझसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने कार्यकारी निर्देशक शेर्पाले जानकारी दिए ।

वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण शनिबारदेखि सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । रोप फिक्सिङपछि पहिलो औपचारिक आरोहण सुरु भएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन कम्पनीले जनाएको छ ।

यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपास आरोहणका लागि सयौँ सङ्ख्यामा आरोही प्रतिक्षारत छन् । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ जनाले अनुमति लिएका छन् ।

सगरमाथा आरोहणको ७० वर्षे इतिहासमा पहिलो पटक सगरमाथामा धेरै आरोहीले आरोहण अनुमति लिएका हुन् ।

    सम्बन्धित समाचार...