२४ बैशाख २०८१, सोमबार

आईपीएलको प्ले अफ दौडबाट बाहिरियो दिल्ली क्यापिटल्स

347020893 254384667272225 3568651716765193937 n

इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्ससंग ३१ रनले पराजित भएपछि दिल्ली क्यापिटल्स प्ले अफ दौडबाट बाहिरिने पहिलो टिम बनेको छ । पञ्जाबका लागि प्रभ सिमरन सिंहले शतकीय इनिङ्स खेले ।

अरुण जेट्ली स्टेडियममा घरेलु टोली दिल्लीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनायो ।

खराब सुरुवात गरेको उसले पावर प्लेमै टिमको स्कोर ४५ रन हुँदा ३ विकेट गुमायो । कप्तान शिखर धवन ७, लियाम लिभिङस्टोन ४ र जितेश शर्मा ५ रनमा आउट भएका थिए । चौथो विकेटका लागि प्रभ सिमरन र साम करनले ७२ रनको साझेदारी गरे । यो साझेदारीमा सबैभन्दा बढी योगदान ओपनर प्रभ सिमरनको रह्यो । करनले २० रन बनाउदा प्रभ सिमरनले एक सय ३ रन बनाए । ६५ बल खेलेका उनले १० चौका र ६ छक्का प्रहार गरेका थिए । इशान्त शर्माले २ विकेट लिए ।

जवाफमा दिल्लीले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३६ रन मात्र बनाउन सक्यो । स्पिनर हरप्रित बराडले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि दिल्लीका ब्याटर सस्तैमा पभेलियन फर्किए । डेविड वार्नरले ५४ रन बनाउनु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ५ ब्याटर सिंगल रनमा मैदान बाहिरिए ।

तालिकाको पुच्छारमा रहेको दिल्लीको १२ खेलमा यो आठौं हार हो । पञ्जाब १२ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

आईपीएलमा आज दिउँसो पौने ४ बजे राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोर तथा साँझ पौने ८ बजे चेन्नाई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ ।

    सम्बन्धित समाचार...