४ जेष्ठ २०८१, शुक्रबार

नक्कली शरणार्थी प्रकरणमा विचौलिया देखिएका कांग्रेस रामेछापका पूर्वसांसद आङटावा शेर्पा फरार

ang tawa12023 05 13 09 22 22

उच्चपदस्थ व्यक्तिहरूकै संलग्नतामा शरणार्थीका नाममा भएको ठगी घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएपछि कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पनि फरार भएका छन् ।

अहिले हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण र बिचौलियाहरूबीच उनले मध्यस्थकर्ताको भूमिका खेलेका थिए । बुधबार खाण पक्राउ परेलगत्तै मैजुबहालस्थित घरमा ताला लगाएर शेर्पा फरार भएका हुन् ।

उनको घरमा केही प्रमाण भेटिन सक्ने भएकाले बिहीबार प्रहरीले ताला फुटाएर खानतलासी गरेको थियो । घरमा कोही पनि नभेटिएको र त्यससम्बन्धी विवरण पनि केही बरामद हुन नसकेको स्रोतको भनाइ छ ।

यद्यपि, अमेरिका पठाइदिने भनेर बिचौलियाहरूसँग पैसा लेनदेनमा शेर्पाको पनि भूमिका रहेको सूचना प्रहरीले पाएको छ । चैतको दोस्रो साता ठगीमा संलग्न केही बिचौलिया पक्राउ परेलगत्तै खाणको प्रतिनिधि बनेर शेर्पा १८ चैतमा अभियुक्तलाई भेट्न प्रहरी कार्यालय पुगेका थिए ।

पैसा फिर्ता गराइदिने आश्वासन दिँदै उनले बयानमा खाणको नाम नपोल्न प्रस्ताव गरेका थिए । एक–दुई दिनमै केही रकम फिर्तासमेत गरिएको सूचना प्रहरीले पाएको छ । यो विषय बलियो प्रमाण हुने भएकाले प्रहरीले शेर्पाको खोजी गरिरहेको छ ।

उनको नाममा अदालतबाट पक्राउ पुर्जी भने जारी भइसकेको छैन ।

उच्चपदस्थमाथि प्रहरी छानबिन केन्द्रित भएलगत्तै शेर्पालाई योजनाबद्ध रूपमै भूमिगत बनाइएको स्रोत बताउँछ । रामेछापका कांग्रेस नेता शेर्पा ०७० मा कांग्रेसका तर्फबाट संविधानसभा सदस्य थिए । उनी ठेकेदार पनि हुन् ।

    सम्बन्धित समाचार...