२३ बैशाख २०८१, आईतवार

के कारणले आउँछ डन्डीफोर ? जोगिने कसरी ?

pimple

टिनेजरहरू यो समस्याले धेरै हैरान भएका हुन्छन् । त्यसो त ३५–४० वर्ष लाग्दासमेत कतिपय महिला अनुहारमा डन्डिफोर निस्किने समस्याले ग्रसित भएका देखिन्छन् । आखिर के हो डन्डिफोर ? के कारणले आउँछ डन्डीफोर ? जोगिने कसरी ?

जानिराख्नुहोस् :-

छालामा हुने एक विशेष प्रकारको तैलीय ग्रन्थिका कारण अनुहारमा डन्डिफोर आउँछ । यो ग्रन्थिले एक प्रकारको चिल्लो पदार्थ पैदा गर्छ र छालालाई प्राकृतिक रूपमै कोमल राख्न सहयोग गर्छ ।

युवा अवस्थामा हर्मोनमा हुने असन्तुलनले छालामा हुने तैलीय ग्रन्थिलाई उत्तेजित पारिदिन्छ । जसलाई बढी प्रभाव पार्छ, उसैलाई बढी डन्डिफोरले सताउँछ । प्रभावस्वरूप सुरुमा हल्का दाग–धब्बाजस्तो देखिन थाल्छ । साथसाथै, धेरै चिल्लोका कारण रौँका छिद्र पनि चौडा हुन थाल्छन् ।

बिस्तारै दाग गाढा हुन थाल्छ । यसले रौँको छिद्र बन्द गरिदिएपछि छिद्रकै मुखमा गाढा दाग कडा आवरणमा देखिन्छ । यसलाई ‘ह्वाइट हेड’ भनिन्छ । ह्वाइट हेड हावाको सम्पर्कमा गएर अक्सिजनसँग संसर्ग हुँदा कालो हुन थाल्छ । यसले आसपासको छालाको तन्तुमा विकार उत्पन्न गरेर पीडा पैदा गर्छ । यही भागमा बिस्तारै डन्डिफोर बन्छ ।

डन्डिफोर आउने कारण

–हर्मोनमा परिवर्तन तथा खराबी ।
–अनियमित महिनावारी ।
–खराब खानपान ।
–तनाव र अनिद्रा ।
–उत्तेजना, क्रोध र भय ।
–शरीरको फोहोर पसिनाका माध्यमबाट छाला हुँदै बाहिरिनु ।
–लामो समयसम्म कब्जियत ।

यसो गरे राम्रो

– अनुहार हरदम सफा राख्ने, किनेभने धुलो जमेर छालाको छिद्रमा डन्डिफोर निम्तिन नपाओस् ।
– सादा पानीले दिनमा ५–६ पटक अनुहार पखाल्नु राम्रो हुन्छ ।
– डन्डिफोर देख्नुहुन्न, निचोरिहाल्ने धेरैको बानी हुन्छ । यो एकदम गलत काम हो । डन्डिफोर नछुनु नै ठीक हुन्छ ।
– निम, घ्युकुमारीजस्ता जडीबुटीको फेसप्याकले अनुहार धुँदा डन्डिफोर चाँडो निको हुन्छ र थप आउन पनि रोक्छ ।
– राति सुत्नुअघि गुलाबजल र चन्दनको पेस्ट बनाएर अनुहारमा लगाउने र केही बेरमा चिसो पानीले पखाल्नाले डन्डिफोरमा राहत मिल्छ ।

    सम्बन्धित समाचार...