१८ बैशाख २०८१, मंगलवार

आदर्श मानिएका मदन राईको आपराधिक कर्म

madan rai

खोटाङका मदन राई कृषि विज्ञका रुपमा परिचित छन्। उनी केही समय बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा पनि सक्रिय थिए।

जीवनपयोगी शिक्षाको वकालत र खोटाङमा अभ्याससमेत गराइरहेका राईविरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ। र, उनका केही हर्कत भिडियोमार्फत् पनि सार्वजनिक भएको छ। वर्षौ लगाएर बनाएको व्यक्तित्व र प्रतिष्ठा कुबाटो समाउँदा क्षणमै नासिन्छ भन्ने पछिल्लो उदाहरण पनि हुन् मदन राई।

यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको खोटाङका मदन राई, सुभद्रा–मदन (शुभम) फाउन्डेसनका संस्थापक हुन्। उनी कृषि विज्ञका रुपमा परिचित छन्।

शुभमका कारण पनि मदन चर्चित भएका हुन्। किनकि, शुभमले ९ वर्षयता खोटाङको जनजागृति माध्यमिक विद्यालय व्यवस्थापन र सञ्चालन गर्दै आएको छ। यो स्कूलमा विद्यार्थीलाई जीवनउपयोगी शिक्षा दिइन्छ।

कृषि विज्ञका रुपमा फरक खालको शिक्षण पद्धतिको अभ्यास गराइरहेका राई यौनलाई दबाउन नहुने पक्षमा वकालत गर्दै आएका थिए। वकालत जस्तै उनको व्यवहार पनि त्यस्तै रहेको भिडियो सार्वजनिक भएपछि राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

यतिमात्र होइन, ७५ वर्षीय मदनले किशोर–किशोरीका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंग छुन लगाउने गर्थे। लामोसमयदेखि राईबाट प्रताडित किशोरीहरुको बयान समाचारका रुपमा सार्वजनिक भएसँगै मदनलाई प्रहरीले पक्राउ गरेको हो ।

बालबालिका ऐन २०७५ को दफा ६६ को उपदफा ३ मा यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने, यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्यलाई यौन दुर्व्यवहार मानेको छ। ऐनमा यस्तो हकर्त गर्नेलाई ७५ हजार जरिवाना र तीन वर्षसम्म कैद सजायँ हुने व्यवस्था छ।

    सम्बन्धित समाचार...