
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल्ने प्रकरणमा एकपछि अर्को नेता तानिएपछि राजनीति तरंगित बन्दै गएको छ । पछिल्लो घटनाक्रमबारे छलफल गर्न आज पनि प्रमुख तीन दलका नेताहरु जुटेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज (बिहीबार) बिहान भेटघाट भएको छ । नक्कली शरणार्थी प्रकरणमा पत्नी आरजु राणा पनि मुछिएको अडियो सार्वजनिक भएपछि सभापति देउवा तनावमा छन् । उनी प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका थिए ।
यसैबीच नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि आजै बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका छन् ।
शरणार्थी प्रकरणमा तानिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् । एमालेका अरु नेताहरु पनि मुछिएका छन् ।
हिजो (बुधबार) पक्राउ परेका कांग्रेस नेता गृहमन्त्री बालकृष्ण खाण प्रहरी हिरासतमा पुगेका छन् । खाणलाई काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि चार दिन थुनामा राख्न अनुमति दिएको छ । नेता खाणलाई दरबारमार्गस्थित प्रहरी हिरासतमा राखिएको छ ।