
नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ।
पछिल्लोपटक आज (बुधबार) बिहान प्रहरीले स्वकीय सचिव नरेन्द्र केसीसहित पूर्वगृहमन्त्री खाँणलाई उनकै निवास चाबहिलबाट नियन्त्रणमा लिएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेका सचिव टेकनारायण पाण्डे र सानु भण्डारीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको नाम लिएपछि उनी पक्राउ परे । योसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको हो।
खाँण, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र खाँण पत्नी मञ्जु पनि यो प्रकरणमा मुछिएका छन् । वैशाख १३ गते सानु भण्डारीसँग लिएको अडियो रेकर्डमा उनले खाँणको नाम लिएको स्रोतले जानकारी दियो । तर प्रहरीले उक्त रेकर्ड गायब बनाएर फेरि बयान लिएको आरोप लागेको थियो ।
“टेक नारायण पाण्डेलाई एक करोड ५० लाख दिएँ । त्यसबेलाको गृहमन्त्री बालकृष्ण खाँडलाई साढे ४ करोड दिएँ भनेको छ,” स्रोतले भन्यो ।
यसअघि मंगलबार प्रहरीले काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई पक्राउ गरेको छ।
यसभन्दा अघि पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, ललितपुर महानगरपालिका–२३ घर भएका सानु भण्डारी, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी समातिइसकेका छन्।
यस्तै सोही प्रकरणमा प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ गरेको छ।
सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको छ।