१ जेष्ठ २०८१, मंगलवार

देउवाको कार्यशैलीमा असन्तुष्टि: किन विधानअनुसार चल्दैनन् ?

sher bahadur deuba
फाइल फोटो

नेपाली कांग्रेसमा दुई महामन्त्रीले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाइरहेका बेला संस्थापन पक्षकै नेताहरुले पनि नेतृत्वबाट विधानको पालना नभएको बताएका छन् । विधानले दिएको अधिकारको सभापतिले दुरुपयोग गरिरहेको उनीहरुको भनाइ छ ।

कांग्रेसको विधानले १६७ केन्द्रीय समितिमा कोषाध्यक्षसहित ३३ जना मनोनीत गर्ने अधिकार सभापतिलाई दिएको छ । विभाग तथा भ्रातृ र शुभेच्छुक संस्थामा जिम्मेवारी तोक्ने अधिकार पनि सभापतिलाई नै छ । सभापतिको चाहनाबिना केन्द्रीय समिति बैठकसमेत बस्न सक्दैन । सभापति देउवाकै कारण महाधिवेशन भएको डेढ वर्षसम्म पनि केन्द्रीय समितिले पूर्णता पाएको छैन भने केन्द्रीय समितिको बैठक ६ महिनादेखि बस्न सकेको छैन । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सभापतिको कार्यशैलीप्रति प्रश्न उठाइरहेका बेला संस्थापन पक्षकै नेताहरुले पनि देउवाको कार्यशैली असन्तुष्टि व्यक्त गरेका छन् ।

२०५८ सालमा पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विद्रोह गरेका देउवा नै अहिले कांग्रेसको नेतृत्वमा छन् । जुन मुद्दामा देउवाले पहिले विद्रोह गरे, अहिले उनले त्यही प्रवृत्ति अवलम्बन गरेको नेताहरुको आरोप छ । केन्द्रीय समितिमा बहुमतमा रहेका सभापतिलाई नियन्त्रण गर्ने निकाय महाधिवेशन मात्र हो । तर, विशेष महाधिवेशन बोलाउन ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर आवश्यक हुन्छ, जुन अहिलेका लागि असम्भव जस्तै छ ।

कांग्रेसमा गुटगत विवाद र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि देखिएको यो पहिलो पटक भने होइन । तर, निर्वाचित दुई महामन्त्रीले दिएको विद्रोहको पछिल्लो चेतावनीले भने कांग्रेसभित्र तरंग उत्पन्न भएको छ ।