६ जेष्ठ २०८१, आईतवार

आइतबार संसदमा नक्कली भुटानी शरणार्थी प्रकरणले रोचक दृश्य

Arzu Rana

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको दोस्रो अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा आइतबार सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी गर्नेहरु को-को हुन् भन्ने कुरा सरकारले संसद्‌लाई जानकारी गराउनुपर्ने धारणा राखे । त्यस्तै उनले सरकारले पुनः विश्वासको मत लिनुपर्ने जनाए । सांसद सुवालले वर्तमान राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न नपाउने दाबी गरे ।

त्यस्तै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री चोखो हुन नसक्ने धारणा राखे । उनले सो प्रकरणमा कर्मचारी थुनामा जाने तर राजनीतिक व्यक्ति उम्किने खेल हुनसक्ने भन्दै राजनीतिक व्यक्तिलाई उम्काउने कुरा संसद् र जनताले स्वीकार नगर्ने जनाए । उनले सबै प्रकारको भ्रष्टाचारको अधिकार सम्पन्न छानबिन आयोग बनाएरै छानबिनको मागसमेत गरे ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले नक्कली भुटानी शरणार्थी प्रकरण नयाँ विषय नभएको जनाए । उनले एमालेले सोही विषय यसअघि नै राष्ट्रियसभा बैठकमा उठाएको भन्दै स्मरण गराए । एमाले भ्रष्टाचार र अनियमिततालाई छानबिनको दायरामा ल्याउनुपर्छ भन्ने पक्षमा रहेको भन्दै सुशासनको पक्षमा दृढतापूर्वक उभिएको उनको भनाइ थियो । उनले वाइडबडी काण्ड, बाँसबारी जग्गा घोटाला काण्ड, मातातीर्थ जग्गा काण्ड, लडाकु शिविरको घोटाला, बजेट निर्माणमा अनाधिकृत व्यक्तिहरुको प्रवेश लगायतको विषयमा पनि छानबिन गर्न प्रधानमन्त्रीलाई चुनौती दिए ।

एमाले सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको सत्तापक्षीय व्यक्तिहरुलाई उन्मुक्ति दिने दूषित मनशाय देखिएको धारणा राखे । उनले आरोपितहरुको बयान लुकाउन लागिएको भन्दै पारदर्शी तरिकाले छानबिन गर्न माग गरे ।

त्यसैगरी एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले आफूलाई दबाब आएको भन्ने अभिव्यक्ति सार्वजनिक गरेको भन्दै कसको दबाब हो भन्नेकुरा स्पष्ट भन्न आग्रह गरे । उनले क्यान्टनमेन्टको अर्बौं भ्रष्टाचार र कमानसिंह लामा ठगी प्रकरणको छानबिन गर्न पनि प्रधानमन्त्रीसँग माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले नागरिकलाई विदेशिन नागरिकता त्याग्नसमेत बाध्य पार्ने राजनीतिक दलहरु भएको भन्दै शरणार्थी बन्न बाध्य पार्नेहरुलाई कारबाहीको माग गरे ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्ष दलहरुलाई नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह गरे । उनले आरोपित एमालेका सचिव टोपबहादुर रायमाझीलाई कानुनी दायरामा बुझाउन आग्रह गरे ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाली राजनीतिमा जो बदमास गर्छ उसैले बढी डकार गर्छ भन्नेजस्तो अवस्था आएको टिप्पणी गरे । आफ्नो मान्छे दोषी देखिने भएपछि बचाउनका लागि प्रधानमन्त्रीसमक्ष म्याउम्याउ गरिएको उनको भनाइ छ ।

नेकपा एमालेका सांसद रघुजी पन्तले सत्तारुढ दलले नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपतिलाई दबाब दिइएको भन्दै त्यसको विरोध गरे । नागरिकता विधेयक संसद्‌मा पेस हुनुपर्ने उनको भनाइ छ । नागरिकता विधेयक संवैधानिक प्रक्रिया र अभ्यासविरुद्ध जारी गरे एमालेलाई स्वीकार्य नहुने पन्तको चेतावनी छ ।

जनमत पार्टीकी सांसद अनिता देवीले कार्यव्यवस्था परामर्श समितिमा एउटा कुरा र संसद् बैठकमा आउँदा अर्कै कुरा भएको भन्दै असन्तुष्टि जनाइन् । उनले नागरिकता हुनेहरु नागरिकता त्यागेर शरणार्थी हुन जाने भन्दै नागरिकता नहुनेहरुलाई कहाँ पुर्‍याउने भनेर प्रश्न गरिन् ?

नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्माले थुनामा रहेका आरोपितहरुलाई सरकारी वकिलका अगाडी बयान फेर्न दबाब दिइएको उनको भनाइ छ । उनले थुनामा रहेका दुई जनालाई संसद्‌मा ल्याएर बयान गराउनुपर्ने माग पनि राखे ।

नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले संसदमा पक्ष र विपक्ष भएर भ्रष्टाचारीलाई जोगाउन नपाइने धारणा राखिन् ।

जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले संसद्‌भित्रै मानव तस्करहरु भएको भन्दै दु:ख व्यक्त गरिन् । उनले पक्ष र विपक्षमा विभक्त भएर भ्रष्टाचारीलाई उन्मुक्ति दिन नसकिने जनाइन् । उनले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने धारणा राखिन् ।

नेपाली कांग्रेसकी सांसद आरजु राणाले आफ्नो परिवारको सम्पत्ति विवरण सरकारसँग सुरक्षित रहेको भन्दै सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरिन् । त्यस्तै सबै सांसदहरुको सम्पत्ति विवरण प्रकाशित हुनुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विगत ३३ वर्षदेखिको भ्रष्टाचार आयोग बनाएर छानबिन गर्नुपर्ने माग गरे ।

नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन सरकारले नै आपराधिक काम गरेको भन्दै तत्कालीन प्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले संसद्‌मा सत्तापक्ष र विपक्षीले भ्रष्टाचारको मात्रै कुरा गरिरहेको भन्दै गणतन्त्र यही दिनका लागि ल्याएको हो ? भन्दै प्रश्न गरे ।

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्नेमा जोड दिए ।

बैठकको सुरुमै सांसदहरुले आफू बोल्न पाउनुपर्ने भन्दै हात उठाएपछि बैठक एकछिन प्रभावित भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आज (सोमबार) बिहान ११ बजेका लागि बोलाइएको छ ।

    सम्बन्धित समाचार...