२४ बैशाख २०८१, सोमबार

मेस्सीमाथि क्लबको कारबाही, दुई साता खेलबाट निलम्बन

messi

स्टार फरवार्ड अर्जेन्टिनी लियोनल मेस्सी क्लबको निलम्बनमा परेका छन् । बिना जानकारी साउदी अरेबियाको भ्रमणमा गएपछि फ्रेन्च लिग वान साइड पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मेस्सीलाई दुई साताको लागि निलम्बन गरेको हो ।

गत आइतबार घरेलु लिगमा पाहुना टोली लोरियन्टसंग ३ – १ गोलले पराजित भएपछि मेस्सी साउदी गएका हुन् । सो खेलमा उनले पुरै ९० मिनेट खेलेका थिए । निलम्बनको समयमा मेस्सीले टिमसंग अभ्यास गर्ने छैनन् । साथै पीएसजीका लागि कुनै पनि खेल खेल्ने छैनन् । यो बीचमा मेस्सीको तलब पनि घटाइनेछ ।

३५ वर्षीय मेस्सीले व्यावसायिक कामका लागि साउदी जान क्लबसंग अनुमति मागेका थिए । तर क्लबले जान अनुमति नदिएको बताइएको छ । यसअघि साउदीको पयर्टक दूत बनेकोमा पनि क्लबले मेस्सीलाई जरिवाना गरेको थियो ।

विश्वकप विजेता मेस्सीको पीएसजीसंगको सम्झौता यसै सिजन सकिँदैछ । उनी र क्लबबीच सम्झौता नवीकरण भएको छैन । उनी पुन: बार्सा फर्कने समाचार पनि बाहिर आइरहेका छन् । पीएसजी समर्थकले मेस्सीलाई क्लबमा रहनु भन्ने नचाहेको र पीएसजी पनि सहकार्य टुंग्याउने सोचमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पीएसजीका लागि मेस्सीले सबै प्रतिस्पर्धामा गरी ७१ खेल खेल्दै ३१ गोल र ३१ एसिस्ट गरेका छन् । गत सिजन उनले लिग वान उपाधि जितेका थिए ।

    सम्बन्धित समाचार...