२५ बैशाख २०८१, मंगलवार

आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी : अध्यक्ष यादव

upendra

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी रहेको बताउनुभएको छ ।

सिंहदरबारमा आज प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले सरकारको स्थिरता लोकतन्त्रको विकासका लागि पनि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

“नेपालको आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व आवश्यक छ”, उहाँले भन्नुभयो, “अस्थिरताले कसैलाई हित गर्दैन, त्यसैले सरकारको कार्यकाल पूरा हुनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा छ ।”

फरक प्रसङ्गमा अध्यक्ष यादवले सरकारमा बाँकी रहेका मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीबाट कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्नेबारे छिट्टै निर्णय गरिने पनि जानकारी दिनुभयो ।

“अहिलेको अवस्थामा वृहत् राष्ट्रिय समझदारीको आधारमा सरकारको स्थायित्व र आर्थिक विकासतर्फ मुलुकलाई अघि बढाउनुपर्छ । मुलुकमा राजनीतिक अस्थिरता रहिरह्यो, सरकार चाँडो–डाडो (दुई महिना–छ महिनामा फेरिनु) बद्लिरह्यो भने देशको विकास र प्रणाली माथि पनि असर पर्छ, त्यसले जनतालाई फाइदा पुग्दैन”, अध्यक्ष यादवले भन्नुभयो ।

संसदीय प्रक्रियामा संसदीय समितिको महत्वपूर्ण भूमिका रहने भएकाले समितिमा पार्टीको तर्फबाट सक्रिय भूमिका रहने उहाँले बताउनुभयो ।

    सम्बन्धित समाचार...