२४ बैशाख २०८१, सोमबार

कर्मचारीहरू त्रासमा- सुरक्षा माग गर्दै सामान्यद्वारा गृहमा पत्राचार

Office of Prime Minister of Nepal

राष्ट्रसेवक कर्मचारीमाथि विभिन्न पक्षबाट सांघातिक हमला हुन थालेपछि निजामती कर्मचारीहरू त्रसित बन्न पुगेका छन् ।

जनप्रतिनिधि तथा अमूक व्यक्तिहरूले विभिन्न वहानामा कर्मचारीहरू माथि आक्रमण गर्ने क्रम बढेको छ ।जसमा देशभरमा सबैभन्दा बढी असुरक्षित विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरू बन्न थालेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीमाथि विभिन्न पक्षबाट सांघातिक हमला तथा कुटपिटको क्रम बढेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीनै तहका कर्मचारीलाई सुरक्षा प्रत्याभूति गराउँदै शान्तिपूर्ण वातावरण निर्माण गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ भने देशभरमा स्थानीय तहमा सतर्कता अपनाउन प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीलाई आन्तरिक सर्कुलर समेत गरेको छ । विशेष गरी स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात हुने गरेका घटना पछिल्लो समय बढ्दै गएको भन्दै त्यस्ता घट्ना रोक्न माग गर्दै सामान्य प्रशासन मन्त्रालयले गृहमन्त्रालयलाई पत्राचार गरेको हो ।

यसरी सरकारकै एउटा मन्त्रायले सुरक्षाको माग गर्दै अर्को मन्त्रालयलाई पत्राचार गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । यसले मुलुकको शान्ति सुरक्षाको अवस्थालाई समेत चुनौती दिएको छ ।

पछिल्लो समय महोत्तरीको बलवा नगरपालिकाकी उपप्रमुख रामदुलारी देवीले नगरपालिकाका प्रमु्ख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुरमाथि बोतल प्रहार गर्दै दुव्र्यवहार गरेकी थिइन् । त्यसपछि पनि अन्य केही ठाउमा कर्मचारीहरू विभिन्न पक्षबाट कुटिँदै आएका छन् । पछिल्लो समय एक वडा अध्यक्षले उपसचिवस्तरका कर्मचारीलाई मुक्का हानेको तस्वीर समेत बाहिरिएको छ । यसरी जनप्रतिनिधिहरूले कर्मचारीमाथि कुटपिट गर्ने क्रम बढेपछि विभिन्न जिल्लामा कर्मचारीहरू आन्दोलित भइरहेका छन् । कर्मचारीहरू आन्दोलित हुँदा सेवा प्रवाह समेत प्रभावित हुँदै आएको छ ।

कर्मचारीहरूले आफूहरू दिनानुदिन असुरक्षित हुनुपरेको भन्दै त्यसको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गराएका थिए ।त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार गृह मन्त्रालयलाई पत्राचार गर्दै ७७ वटै जिल्लाको सुरक्षा निकायमार्फत आम कर्मचारीलाई सुरक्षित वातावरण मिलाइदिन आग्रह गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

    सम्बन्धित समाचार...