
वर्षाले प्रभावित एसीसी मेन्स प्रिमियर कपको फाइनलको बाँकी खेल आज हुँदैछ ।
कीर्तिपुरस्थित टीयू मैदानमा हिजो (सोमबार) टस हारेर पहिले ब्याटिङमा आएको यूएई वर्षा हुनु अघि २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १०६ रनको कमजोर अवस्थामा पुगेको थियो । २७ ओभरको दोस्रो र तेस्रो बलमा विकेट लिएका ललित राजवशीं ह्याट्रिकमा छन् ।
ललितले ३, करण केसी र सन्दीप लामिछानेले २-२ विकेट हात पारेका छन् । सोमपाल कामी र गुल्सन झा १ – १ विकेटमा छन् । अन्तिम विकेटका लागि यूएईका कार्थिक मियप्पन र जुनैद सिद्धिकी मैदानमा छन् ।
बिहान ९ बजे सुरु हुने खेलमा हिजो स्थगित भएको स्थानबाट नेपालले बलिङ गर्नेछ । आज पनि हिजो जस्तै वर्षाले खेल अवरुद्ध भएको अवस्थामा सुपर ओभर खेलाउने प्रयास हुनेछ। पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ।
सुपर ओभर पनि हुन नसकेको अवस्थामा भने आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको आधारमा निर्णय लिइनेछ । त्यसो भएको अवस्थामा यूएईभन्दा पाँच स्थान अगाडि रहेको नेपाल एसिया कपमा छनोट हुनेछ । एकदिवसीय वरीयतामा नेपाल १४ औँ र यूएई १९ औँ स्थानमा छ।
एसीसी मेन्स प्रिमियर कपको उपाधि उचाले नेपाल एसिया कपअन्तगर्त भारत र पाकिस्तान रहेको समूह एमा स्थान बनाउने छ । फाइनलमा पुगेका नेपाल र यूएईले एसीसी इमर्जिङ एसिया टिम्स कपमा भने स्थान बनाइसकेका छन् ।
आजको खेल हेर्न मैदानमा दर्शकलाई नि:शुल्क प्रवेश दिइएको छ ।