५ जेष्ठ २०८१, शनिबार

नीरा हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक जना पक्राउ

dead BkxJX8CphI 1024x647 1

कपनको सरस्वतीनगरमा भएको नीरा पाण्डेको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले झापाको बिर्तामोडबाट विनोद विकलाई पक्राउ गरेको हो ।

३६ वर्षीय विक काठमाडौंको एक क्लबमा बाउन्सरका रुपमा कार्यरत रहेको खुलेको छ । उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

यही वैशाख ७ गते दिउँसो ३ बजे नीरा आफ्नै पसल ‘नीरु किचेन’ भित्र मृत फेला परेकी थिइन् । उनको शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरिएको थियो । ३२ वर्षीया नीराको हत्या प्रकरण छानबिनमा प्रहरी प्रशासनले ढिलाइ गरेको भन्दै पीडित पक्षले शनिबार माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको थियो । उनीहरुले अनुसन्धान गरी चाँडोभन्दा चाँडो सत्यतथ्य पत्ता लगाउन माग गरेका छन् ।

हत्यारा सार्वजनिक नभएसम्म दाहसंस्कार नगर्ने भन्दै आफन्तले आन्दोलन जारी राखेका छन् । उक्त घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन भएको र अनुसन्धान नसकी तत्कालै कसैलाई सार्वजनिक गर्ने अवस्था नरहेको प्रहरीको भनाइ छ ।

हत्या प्रकरणको अनुसन्धान गर्न शुक्रबार प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एआईजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरको छानबिन समिति गठन गरेको थियो ।

    सम्बन्धित समाचार...