१५ बैशाख २०८१, शनिबार

भारतमा पहिलोपटक कोरोनाबाट एकैदिन दुई हजारभन्दा बढीको मृत्यु

italy corona virus

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा दुई हजारभन्दा धेरैको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट दुई हजार तीन जनाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ११ हजार ९०३ पुगेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितको संख्या पनि तीन लाख ५४ हजार ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९७४ नयाँ संक्रमित फेला परेका हुन् ।

Capture india

अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा चाैथाे स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म सवैभन्दा धेरै सङ्क्रमितको संख्या महाराष्ट्र प्रदेशमा रहेको छ । दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा रहेको मन्त्रालयले जनाएको छ ।

अहिले भातरमा १ लाख ५४ हजार ६८८ जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १ लाख ८७ हजार ५२२ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिँदै गएको अधिकारीहरुले बताएका छन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख १३ हजार ४४५ संक्रमित फेला परेका छन् भने पाँच हजार ५३७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

त्यस्तै तामिलनाडुमा अहिलेसम्म ४८ हजार १९ संक्रमित फेला परेका छन् भने ५२८ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ४४ हजार ६८८ संक्रमित भेटिँदा एक हजार ८३७ को मृत्यु भइसकेको छ । गुजरातमा २४ हजार ५७७ संक्रमित फेला परिसकेका छन् भने एक हजार ५३३ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १४ हजार ९१ संक्रमित फेला परेका छन् भने ४१७ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा ११ हजार ९०९ संक्रमित भेटिएका छन् भने ४९५ जनाको मृत्यु भइसकेको छ । बिहारमा ६ हजार ७७८ संक्रमित फेला परेका छन् भने ४१ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ८६ हजार ९३५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।