८ बैशाख २०८१, शनिबार

अर्घाखाँचीको क्वारेन्टिनमा एक पुरुषले गरे आत्महत्या

Hangmans Noose

शितगंगा नगरपालिकामा आरडीटी रिपोर्ट पोजेटिभ आएका एक पुरुषले आत्महत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ५ जुकेनास्थित हरी माविको क्वारेन्टिनमा रहेका सोहि वडाका ४३ वर्षीय पुरुष देवबहादुर विकले बुधवार विहानपख झुण्डिएर आत्महत्या गरेका हुन।

उनी क्वारेन्टिन रहेको विद्यालय परिसरमा रहेमा खनियाको बोटमा आफ्नै ओछ्यानमा विच्छाएको तन्नाले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए।

विहान ३ बजेतिर आफुसँगै रहेका दुईजनालाई समेत उठाई शौचालय गएको र आएपछि सँगै रहेका साथीहरु सुतेपछि फर्किएर गई आत्महत्या गरेको बुढाथोकीले जानकारी दिए।

उनको २४ गते गरिएको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । पीसीआर परीक्षणका लागि २५ गते उनको स्वाबको नमुना लिएर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।

उनी गत जेठ १० गते भारत पञ्जाबबाट आएर क्वारेन्टिन बस्दै आएका उनको आरडिटी परिक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको भएपनि पिसिआर रिपोर्ट भने आइनपुगेको नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए।

उनी भारतबाट आएको २५ दिन भएको थियो । उक्त क्वारेन्टाइनमा २५ जना रहेका छन् ।

जेठ २६ गते पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि भैरहवा लगिएको भएपनि उनको रिपोर्ट अझैसम्म आइनपुगेको अधिकारीले जानकारी दिए।

पिसिआर रिपोर्ट नआईपुगेको कारण अहिलेपनि उनको शव रुखमै झुण्डिएकै अवस्थामा रहेको छ।

नगरप्रमुख अधिकारीले स्वावको रिपोर्ट नआउँदासम्म शव त्यतिकै रहने बताए। ‘हामीले स्वाव परिक्षण गरी छिटो रिपोर्ट पठाउन भनिरहेका छौं, जतिसक्दो छिटो रिपोर्ट आउँछ त्यति नै छिटो शव रुखबाट झारिन्छ’, उनले भने।

उक्त क्वारेन्टिन गाउँमै रहेको कारण अहिले घटनास्थलमा परिवार तथा आफन्तहरुको रूवाबासी चलेको छ।

स्रोतका अनुसार अहिले क्वारेन्टाइन सुरक्षालाई लिएर सर्वदलिय बैठक बसिरहेको छ । बैठक मा सुरक्षा प्रमुख र जिल्ला प्रमुखहरु को पनि सहभागिता छ ।

प्रदेश ५ थप समाचार : अर्घाखाँचीमा क्वारेन्टाइनबाट भागेका ३५ जना पक्राउ

जिल्लाको भूमिकास्थानको क्वारेन्टाइनबाट भागेका ३५ जना पक्राउ परेका छन् । भूमिकास्थान–१ र २ ढाकावाङको क्वारेन्टाइनबाट भागेकाहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

गथ जेठ २२ गते पिसिआर परीक्षणका लागि पठाइएको रिपोर्ट १४ दिन पुग्दासम्म नआएको भन्दै उनीहरु एकाएक क्वारेन्टाइनबाट भागेका थिए । भागेर घर तर्फ जान हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरी पुनः क्वारेन्टाइनमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए ।

यस्तै जिल्लामा एक गर्भवतीसहित १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा शीतगंगा नगरपालिकामा सात, भूमिकास्थान नगरपालिका र पाणिनि गाउँपालिकामा एकएक, छत्रदेव गाउँपालिकाका दुई, मालारानी गाउँपालिकाका तीन र ठेगाना नखुलेका एक गरी १५ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक गणेश पौडेलले बताए ।

रुकुमपूर्व कोरोना सङ्क्रमणमुक्त
स्वाब संकलन गरिएका ८२ जनाकै रिपोर्ट नेगेटिभ आएपछि (रुकुमपूर्व) कोरोना सङ्क्रमणमुक्त भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणका क्रममा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले जानकारी दिए।

दाङमा कोरोना संक्रमण तीव्र
दाङमा मंगलबार थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राप्ती प्रतिष्ठानमा गरिएको परीक्षणमा यहाँका ४६ पुरुष र १० महिलामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइएको छ ।

पुष्टि भएको सङ्ख्या अहिलेसम्मकै धेरै हो । यससँगै जिल्लाभर २४३ जनामा सङ्क्रमण भएको छ । प्रतिष्ठानका अनुसार प्रतिष्ठानको कोरोना प्रयोगशालामा अझै चार हजार आठ सय जनाको स्वाब परीक्षण गर्न बाँकी छ ।

कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनमा खटिएका थप ६ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै दाङमा जनप्रतिनिधि, क्वारेन्टाइनमा खटिएका भान्छे र स्वयंसेवकमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

प्युठानमा थप २० मा कोरोना
प्युठानमा मंगलबार थप २० व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा १९ पुरुष र एक महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्कल श्रेष्ठले बताए। सङ्क्रमितलाई स्थानीय तहले निर्माण गरेको आइसोलेशन केन्द्रमा राखिने जनाइएको छ । जिल्लामा कोरोना सङ्क्रमित ५५ जना पुगेका छन् । रासस