३१ बैशाख २०८१, सोमबार

कुवेतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, गुल्सनको स्थानमा करण

341849531 159090033768483 1995710098998168688 n

एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा कुवेतविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु भएको सेमिफाइनलमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । गुल्सन झाको स्थानमा करण केसीलाई राखिएको छ । नेपाल समूह ‘ए’ को विजेता र कुवेत समूह ‘बी’ को उपविजेता बन्दै प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिम एसिया कपको सपनालाई वास्तविकतामा बदल्न मात्र दुई जितले टाढा छ । त्यसका लागि नेपालले आज हुने सेमिफाइनलमा कुवेतको चुनौती पन्छाउनु पर्नेछ । हङकङलाई स्तब्ध पार्दै अन्तिम चारमा पुगेको कुवेतलाई मोन्टी देसाईको टिमले हल्का रुपमा लिएको छैन ।

जारी प्रतियोगितामा नेपाल अपराजित छ । मलेसिया, ओमान र कतारलाई पराजित गर्दै समूह ‘ए’ को विजेताका रुपमा नेपालले अन्तिम चारमा स्थान बनाएको हो । मूलपानी मैदानमा तय भएको साउदी अरेबियासँगको खेल भने वर्षाले रद्ध भएको थियो । जसका कारण दुवै टिमले अंक बाँडे । मलेसियालाई ६ विकेट र ओमानलाई ८४ रनले पराजित गरेको नेपालको परीक्षा भने कतारले लियो । यो खेलमा नेपाल १५७ रनमै अलआउट भएको थियो । तर पनि कतारलाई ८९ रनमै अल आउट गराएको नेपाल हारबाट जोगियो ।

जारी प्रतियोगिताका तीन खेलमा नेपालको ओपनिङ जोडी चलेको छैन । तर बाँकी ब्याटरले इनिङ सम्हालेपछि नेपालको ब्याटिङलाई समस्याको रुपमा हेरिएको छैन । ओमानविरुद्ध त कुशल मल्लले शतक नै बनाए । सन्दीप लामिछानेले यही प्रतियोगितामार्फत एक दिवसीय अन्तर्राष्ट्रियमा एक सय विकेट पूरा गरी विश्व कीर्तिमान बनाए । डेथ ओभरमा पनि केही सुधार देखिएको छ ।

कुवेत समूह ‘बी’ को उपविजेता हो । प्रतियोगिताअघि खासै वास्ता नगरिएको कुवेत सप्राइज बनेर आएको छ । उसले समूहको आफ्नो पहिलो खेलमा यूएईसँग १४३ रनको फराकिलो हार बेहोरेको थियो । बाँकी तीन खेलमा उत्कृष्ट पुनरागमन गरेको उसले बहराइनलाई २ र सिंगापुरलाई ४ विकेट तथा हङकङलाई ३० रनले हराएको हो ।

५० ओभरको फर्म्याटमा पछिल्लोपटक सन् २०१२ मा भएको प्रतिस्पर्धामा नेपाल कुवेतसँग पराजित भएको थियो । त्रिवि मैदानमा आफ्नो उच्च लयलाई निरन्तरता दिँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल रहँदा कुवेत ओडीआई राष्ट्रमाथि सनसनीपूर्ण जित निकाल्न चाहन्छ ।

मूलपानी मैदानमा आजै हुने अर्को सेमिफाइनलमा ओडीआई मान्यता प्राप्त ओमान र यूएई भिड्नेछन् ।

    सम्बन्धित समाचार...