२० बैशाख २०८१, बिहीबार

नेपालले कतारलाई दियो १५८ रनको मध्यम लक्ष्य, सन्दीपले बनाए सर्वाधिक रन

343496363 267320708973017 3709472652744696870 n

एसीसी मेन्स प्रिमियर कपमा घरेलु टोली नेपालले कतारलाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ५७ रनको मध्यम योगफल बनायो ।

जारी प्रतियोगितामा अपराजित नेपालले कतारविरुद्ध भने फितलो प्रर्दशन गरेको छ। कतारी बलरसामू धरासायी बनेको नेपालको ब्याटिङ लाइन पुछारका ब्याटरद्वय सन्दीप लामिछाने र ललित राजवंशीले सम्हाल्दै टिमको उद्धार गरे ।

नेपालको अन्तिम ब्याटिङ लाइनका सन्दीप र ललितले टिमको स्कोर मजबुत बनाउन संघर्ष गरेका थिए । सन्दीपले ५८ बलको सामना गर्दै सर्वाधिक ४२ रन बनाए भने सन्दीपलाई साथ दिएका ललितले १ रन जोडे । उनले १७ बलको सामना गरे । सन्दीपले ५० ओभर फर्म्याटको खेलमा अहिलेसम्मकै सर्वाधिक रन जोडेका हुन् ।

नेपालले अघिल्ला खेलको तुलनामा राम्रो सुरुवात गर्न सकेन । चार ओभरमै सुरुवाती दुई विकेट गुमायो । नेपालले २४ ओभर खेल्दा ६ विकेट गुमाएर ९२ रन मात्रै बनाउन सकेको थियो ।

ओपनर कुशल भुर्तेल दुई रनमा पभेलियन फर्किए । जारी प्रतियोगितामा उनले ठूलो रन बनाउन सकेका छैनन् । मलेसियाविरुद्ध ३८ रन बनाएका उनी ओमानविरुद्धको खेलमा खाता नखोल्दै मैदानबाट बाहिरिएका थिए । उनी एक ओभर दुई बलमा आउट भएका हुन् ।

त्यसपछि आएका भीम सार्की धेरैबेर मैदानमा टिक्न सकेनन् । ३ ओभर ३ बलमा भीम बाहिँरिदा नेपाल दुई विकेट गुमाएर ९ रनको अवस्थामा पुगेको थियो । उनी १२ बलमा ६ रन बनाउँदै बाहिरिएका हुन् ।

कप्तान रोहित पौडेलले आशिफ शेखसँग मिलेर ४८ रनको साझेदारी गरे । तर रोहित २७ रनमा आउट हुँदा आशिफ १९ रनमा पेभेलियन फर्किए । पाँचौ नम्बरमा मैदान छिरेका सोमपाल कामीले ११ रन मात्रै जोड्न सके । यसअघि राम्रो प्रदर्शन गरेका कुशल मल्ल आज ३ रनमै क्याच आउट भए । आरिफ शेख ११ रनमा आउट भए भने दीपेन्द्रसिंह ऐरीले १२ रन बनाए । गुल्सन झा ७ रनमै पभेलियन फर्किए ।

कतारका अमिर फारुकले ४ विकेट लिए भने ओवाइस अहमेदले ३ तथा गयान मुनाविराले २ विकेट हात पारे । इक्रामुल्लाह खानले १ विकेट झारे ।

समूह ‘ए’मा अपराजित घरेलु टोली नेपाल यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ। आजको खेलले समूह विजेताको टुंगो लाग्नेछ।

    सम्बन्धित समाचार...