२१ बैशाख २०८१, शुक्रबार

इटहरी–धरान सीमा विवाद उत्कर्षमा

dharan boarder

गत आइतबार साँझ सामाजिक सञ्जालमा एउटा तस्बिर बाहिरियो । जहाँ इटहरी उपमहानगरपालिका वडा नं। २० स्थित तरहराको पानीपियामा धरान उपमहानगरले स्वागत बोर्ड राखेको दृश्य थियो । इटहरी क्षेत्रमा आफ्नो सिमाना परेको दाबी गर्दै धरान उपमहानगरकाका नगरप्रमुख हर्क साम्पाङको निर्देशनमा बोर्ड राख्न निर्देशन दिएसँगै नगर प्रहरी र कर्मचारीले बोर्ड राखे ।

लगत्तै सोही राति युवा संघ इटहरीले सो बोर्ड उखेलेपछि अहिले दुई उपमहानगरपालिकाबीचको सीमाको विषयलाई लिएर विवाद चर्किएको छ ।

बोर्ड हटाएपछि आफूले कारबाही गर्ने बताएका धरानका नगरप्रमुख साम्पाङले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै आफूले सीमा खोज्नु अधिकार भएको बताएका छन् । उनले आफ्नो क्षेत्राधिकार यकिन गर्नु कर्तव्य भएको भन्दै संघीय सरकार र नापी विभागद्वारा जारी नक्साका आधारमा पानीपिया क्षेत्रमा सीमा प्रारम्भको बोर्ड लगाएको बताएका हुन् ।

आधिकारिक नक्सामा धरानको सीमा पानीपिया नै रहेको धरान उपमहानगरपालिकाका योजना तथा इन्जिनियरिङ महाशाखा प्रमुख एवं वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठको दाबी छ ।

यता, इटहरी उपमहानगरपालिकाले सीमा विवाद झिकेर द्वन्द्व फैलाउन खोजिएको भन्दै संवादमा आउन आग्रह गरेको छ । सीमा विवादलाई वार्तामार्फत समाधान गर्न पौडेलले साम्पाङलाई आग्रहसमेत गरेका छन् ।

युवा संघले बोर्ड उलेखेपछि धरानका नगरप्रमुख साम्पाङले कारबाहीका लागि उजुरी दिने प्रतिक्रिया सामाजिक सञ्जालमा व्यक्त गरेपछि बोर्ड हटाएको विषयमा कोही कसैलाई कारबाही नगर्न इटहरी उपमहानगरपालिकाले माग गरेको छ । सीमासम्बन्धी विवाद भने यसअघि नै भएको हो ।

पहिलोपटक २०६६ सालमा, दोस्रोपटक २०७४ सालमा, तेस्रोपटक २०७६ सालमा र अहिले २०८० सालमा गरी चौथोपटक विवाद आएको हो । राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...